काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोष (सीआईटी)ले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धनजनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो ।
शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापा र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम कोषको नाममा जम्मा गरिएको छ । चेक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेकोमा कोषलाई धन्यवाद दिनुभएको थियो ।
गत असोज ११ र १२ गते देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न असहज अवस्थालाई सहयोग पुर्याउन कोषले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको बताइएको छ । यसअघि पनि कोषले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक र भौतिक सहयोग गर्दै आएको छ ।