काठमाडौं। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जनकपुर बोल्ट्सले हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन लक्ष्य खडा गरेको थियो । जनकपुर बोल्ट्सले १९.२ ओभरमा लक्ष्य पुरा गरि सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै उपाधि जितेको हो ।
यस जितसँगै जनकपुर बोल्ट्सले एनपिएल ट्रफी र १ करोड १० लाख रुपैयाँको नगद पुरस्कार प्राप्त गरेको छ । जुन नेपालका सबैभन्दा बढी मूल्यको पुरस्कार राशी भएको खेलकुद प्रतियोगिता हो । सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरका ओपनर ब्याट्सम्यान लाहिरु मिलन्थाले ४९ बलमा ८७ रनको शानदार इनिङ्स खेल्दै टिमलाई बलियो शुरुआत दिलाएका थिए । उनले ९ चौका र ४ छक्का प्रहार गरेका थिए । कप्तान आसिफ शेखले १९ बलमा ३३ रनको पारी खेले भने मध्यक्रमका ब्याट्सम्यान हर्ष ठाकरले २४ बलमा ३० रन बनाउँदै टिमलाई विजय तर्फ लैजान महत्वपूर्ण योगदान गरेका थिए ।
यसअघि सुदूरपश्चिमका लागि ओपनरद्वय सैफ अलि जेब र बिनोद भण्डारीले शानदार शुरूआत गरेका थिए। उनीहरुले पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरे । सैफ अलि जेब अर्धशतकीय पारी खेले । उनले ४३ बल खेल्ने क्रममा आठ चौका र दुई छक्काको साहरामा ६९ रन बनाए । साथै बिनोद भण्डारीले ३१ बल सामना गर्दै एक चौका र तीन छक्कासहित ४१ रन बटुले । सुदूरपश्चिमका लागि अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् । ब्राण्डन म्याक मुलेन र हर्मित सिंहले समान १४ रन बनाए भने स्कट कुग्गेलेइनले १३ रन बटुले ।
अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन/तीन विकेट लिए भने जिमी निशम र ललित राजवंशीले एक/एक विकेट लिएका थिए ।
सुदूरपश्चिम रोयल्सले क्वालिफायरमा जनकपुर बोल्ट्सलाईनै पराजित गर्दै फाइनलमा पुगेको थियो । तर जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पाखा लगाउँदै पून: फाइनलमा स्थान पक्का गरेको थियो ।