ठूलो एकादशी (हरिशयिनी)को दिन पशुपतिमा भव्य मेला लाग्ने गर्छ । ललितपुर कुपण्डोलका शिवप्रसाद अर्याल पनि २०४७ असार १९ गते ठूलो एकादशीको दिन मन्दिर दर्शनका लागि साइकलमा पशुपतितर्फ गइरहेका थिए । तर दुर्भाग्य, पुरानो बानेश्वर पुग्नै लाग्दा उनी दुर्घटनामा परे ।
आफू सवार साइकललाई गाडीले हानेपछि शिवप्रसाद लडेर गाडीकै मुनि सुत्न पुगे । यसपछि उनलाई गाडीले करीब १० मिटर घिसार्यो । अन्य दुईजना केटाकेटीलाई पनि उक्त गाडीले हान्यो र अन्त्यमा पोलमा ठोक्किएर रोकियो । दुर्घटनाले मेरुदण्डमा गहिरो चोट लागेका उनी ३ महीना अस्पतालमा बसे र थप ३ महीना घरमै आराम गरे । यसपछि पनि उनी हिँड्न सक्ने कहाँ भए र ? खुट्टा गुमाएका उनले सधैंका लागि ह्वीलचियरको सहारा लिनुपर्यो ।
दुर्घटना हुनुभन्दा ७ वर्षपहिले नै शिवप्रसादले नेपाल राष्ट्र बैङ्कमा जागीर शुरू गरेका थिए । एकादशीको दिन भएको कहालीलाग्दो दुर्घटनापछिका ६ महीना उनले उपचारमै नै बिताउनुपर्यो । यसबेला उनी कार्यालय जान सक्ने कुरा नै भएन । उपचारपछि पनि उनलाई राजीनामा दिएर घरमै बस्न धेरैले सुझाए । तर, कर्मशील स्वभावका उनलाई यो सुझाव पटक्कै चित्त बुझेन । उनलाई लाग्यो, ‘कुपण्डोलबाट थापाथली बीस मिनेटको बाटोमा अफिस भएको मैले पनि काम छाडे अपाङ्गता भएका अन्य मानिसले कसरी जीवन निर्वाह गर्ने ?’ अन्ततः उनले हिम्मत जुटाइछाडे र ह्वीलचियरबाटै कार्यालय जाने–आउने निधो गरे । कुपण्डोलदेखि थापाथलीस्थित नेपाल राष्ट्र बैङ्क जाने उनको यात्रा २०७० चैत २० सम्म जारी रह्यो । यसरी उनले २०४० सालमा शुरू गरेको जागीरे जीवन ३० वर्षपछि अनिवार्य अवकाश प्राप्त गरी पूरा गरे ।
अधिकृत बनेको दिन
दुर्घटनापछिको जागीरे जीवनमा कहाँ सहज हुन्छ र ? यस क्रममा उनले अनेकौं उतारचढावको सामना गर्नुपर्यो । खजाञ्चीका रूपमा नेपाल राष्ट्र बैङ्क प्रवेश गरेका उनी अधिकृतसम्म भए । जागीर छाड्ने वर्ष उनले लिखित दिएरै अधिकृतको परीक्षा पास गरे । त्यो उनको जीवनको सबैभन्दा खुशीको क्षण थियो ।
३ दशक लामो सेवाअवधिमा उनलाई मिलेको अर्को उपाधि हो, हस्ताक्षर विशेषज्ञ । कुनै तालीमविना आफ्नै अनुभव र कार्यकौशलले आफूलाई यो विशेषज्ञता मिलेको उनी बताउँछन् । ‘मैले दुई पटकभन्दा बढी तालीम पाएको छैन,’ उनी भन्छन्, ‘जे जति सिकेँ, त्यो आफै सिक्न खोज्नुको परिणाम हो ।’ यसबाहेक पनि राष्ट्र बैङ्कसँगका धेरै तीतामीठा क्षणको लामो फेहरिस्त उनीसँग छ, जुन एकै बसाइमा खोल्न उपयुक्त ठान्दैनन् उनी । अपाङ्गतामैत्री कार्यकक्ष र भवन नहुनुको पीडा त छँदै छ, यसबाहेक बेलाबखतका घोचपेचलाई उनले साहसमा बटुल्न सिके ।
२०५९ सालमा नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घबाट ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ पाएका शिवप्रसादले २०६९ सालमा ओमकार महावाणी मासिकबाट सामाजिक तथा धार्मिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत ‘ओमकार सम्मान २०६९’ प्राप्त गरेका छन् ।
रुचिले बुझायो अर्थव्यवस्था
विद्यालय पढ्दा नै शिवप्रसादलाई शेयर बजारको बारेका चाख पलायो । ‘पैसा घरमा राख्न हुन्न, बरु बैङ्कमा राखे ब्याज पाइन्छ’ भन्ने भनाइ उनले विद्यालय जीवनमै बारम्बार सुने । विस्तारै उनलाई आर्थिक क्षेत्रका नयाँ नयाँ विषय वस्तुबारे बुभ्mने उत्सुकता बढ्यो ।
जागीरबाट अवकाशप्राप्त भएपछि पनि उनी खाली बसेनन् । बरु आफूले जानेका कुरा लेखरचनामार्फत व्यक्त गरिरहे । आर्थिक पत्रिकाहरूमा छापिएका तथा मौलिक विचार समेटिएका उनका लेख पाठकले मन पनि पराए । निरन्तर शेयर बजारमा क्रियाशील भइरहे । यसबाहेक उनी समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । २०७२ सालमा महाभूकम्प जाँदा अपाङ्गता भएकाहरूलाई सूचना पाउन सजिलो होस् भनेर उनले आफैले रेडियो खरीद गरी वितरण गरे । यस्तै, उनले सिन्धुपाल्चोकमा पिस्कर काण्डका शहीदको परिवारसहित अन्य चार परिवारलाई ६ महीनाका लागि चामल, दाल, नून तेललगायत उपभोग्य सामग्री वितरण गरे ।
शिवप्रसादलाई सङ्घर्ष नै सम्पूर्ण सफलताको आधार हो भन्ने लाग्छ । उनी भन्छन्, ‘मानिसले कहिल्यै हिम्मत हार्नु हुँदैन, मेहेनत गर्न छोड्नु हुँदैन ।’ आत्मनिर्भर बन्न सके नै गौरवपूर्ण जीवन प्राप्त हुने उनको बुझाइ छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.