लस एन्जलस । स्पेसएक्सले आफ्नो ठूलो स्टारशिप रकेटको सातौं परीक्षण उडानको तयारी पूरा गरेको छ। यो परीक्षणले स्टारशिपको विश्वसनीयता र कार्यक्षमतामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।
स्पेसएक्सले जानकारी दिएअनुसार, यो उडान परीक्षणमा स्टारशिपको माथिल्लो चरणमा नयाँ र सुधारिएका प्रविधिहरू समावेश गरिएका छन्। यसमा प्रोपेलेन्ट भोल्युम २५ प्रतिशतले वृद्धि गरिएको छ, फिडलाइनमा भ्याकुम ज्याकेटिङ थपिएको छ, र्याप्टर भ्याकुम इन्जिनका लागि नयाँ इन्धन आपूर्ति प्रणाली र प्रोपल्सन एभियन सेन्सर नियन्त्रण प्रणाली सुधारिएको छ।
यो परीक्षणको क्रममा, अन्तरिक्षमा रहँदा स्टारशिपले १० स्टारलिङ्क सिमुलेटरहरू तैनाथ गर्नेछ। स्पेसएक्सको स्टारशिप प्रणालीमा अन्तरिक्ष यान र सुपर हेभी रकेट समावेश छन्, जसलाई सामूहिक रूपमा स्टारशिप भनिन्छ।
नासाले चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने आफ्नो आर्टेमिस ३ मिसनको अन्तिम चरणमा स्टारशिप प्रयोग गर्ने योजना बनाएको छ। यो मिसन हाल सन् २०२६ का लागि निर्धारित छ । रासस/सिन्ह्वा