काठमाडौ । उद्योग‚ वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उच्चस्तरीय आर्थिक सुधार सिफारिश आयोगका निष्कर्षहरू कार्यान्वयन गर्न सरकारले काम गरिरहेको बताएका छन् । आज काठमाडौंमा भएको कार्यक्रम नवौं न्युबिज कन्क्लेभ तथा बिजनेस एक्सिलेन्स अवार्ड, २०२५ मा उनले यसबारे बताएका हुन् ।
आज काठमाडौंमा भएको कार्यक्रम नवौं न्युबिज कन्क्लेभ तथा बिजनेस एक्सिलेन्स अवार्ड, २०२५ मा उनले दोस्रो चरणको आर्थिक सुधार अभियानबारे बताएका हुन् । मन्त्री भण्डारीले आयोगका निष्कर्ष कार्यान्वयन गर्न अन्तर मन्त्रालयबाट काम अघि बढेको बताए । उनले आयोगका निष्कर्षहरू बजेटमा प्रतिविम्बित भएको र प्रधानमन्त्रीकै नेतृत्त्वमा सेवा प्रवाह‚ सुशासनलगायत शासकीय सुधार प्रवर्द्धन गर्न सरकारले प्रारम्भिक काम थालेको बताए । उनले उच्चस्तरीय आर्थिक सुधार सिफारिश आयोगबाट गरिएका संरचनागत‚ शासकीय र कानूनी सुधारहरूसम्बन्धमा सरकारले ध्यान दिइरहेको बताए ।
उनले सन् २०१३ मा शुरु भएको न्युबिज कन्क्लेभ तथा बिजनेस एक्सिलेन्स अवार्ड नेपालका व्यवसायीक सरोकारवाला समूहहरूका लागि संवादको महत्त्वपूर्ण थलो बनिसकेको तथा देशको अर्थतन्त्र र पूँजीबजारलाई चलायमान बनाउन भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । उनले २०७२ सालको महाविनाशकारी भूकम्प, कोभिड–१९ महामारी जस्ता गम्भीर संकटहरूका बीचमा पनि यो कन्क्लेभले देशको आर्थिक जगतलाई सशक्त र सुसूचित बनाएको बताए ।
मन्त्री भण्डारीले यस प्रकारको अवार्ड, प्रोत्साहन, तथा सम्मानले व्यवसायीहरूलाई थप ऊर्जा प्रदान गर्नुको साथै थप उत्कृष्ट काम गरौं भन्ने हौसला प्रदान गर्ने बताए । उनले न्यू बिजनेश एजले यस्ता अवार्ड आयोजना गरेर उद्यमीहरूको हौसला बढाउनुका साथै देशबाट पलायन हुने युवाहरूलाई देशभित्र काम गर्ने वातावरण छ, र नेपालमा धेरै गर्न सकिन्छ भन्ने सन्देशसमेत प्रवाह गरेको बताए ।