महोत्तरी । उत्पादित फसल बेच्न बजारबजार दौडनु नपरेपछि महोत्तरीको भङ्गाहा नगरपालिका र आसपासका किसान उत्साहित भएका छन् । यहाँ उत्पादित ओल र मसला स्थानीय कृषि सहकारी संस्थाले किन्न थालेपछि बजारीकरणको समस्या समाधान भएको हो ।
भङ्गाहा–४, रामनगरस्थित गढीमाई कृषि सहकारी संस्थाले चलनचल्तीको मूल्यमा पालिका र आसपासका किसानका ओल र मसला किन्दै आएको छ । ‘उत्पादन राम्रो गराउन थप मेहनत गर्नुपर्ने भएको छ,’ किसान राजकुमार दासले भने, ‘अहिले फसल बेच्न बजारबजार दौडनु पर्दैन । संस्थाले ओल र मसला किन्न थालेपछि बजारको चिन्ता हटेको छ ।’
तराईको विशेष तरकारी मानिने ओल र बेसार, खुर्सानी एवं अदुवा मिसाएर बनाइएको मसला सहकारी संस्थाले किन्न थालेपछि किसान विक्रीको कुराबाट ढुक्क भएका हुन् ।
बर्दिबास–७ का रामउद्गार महतोले भने, ‘पहिलेपहिले ओल खेती गरेपछि बजारको चिन्ता हुन्थ्यो, अब ढुक्क छौं ।’ संस्थाले आफ्नो बस्तीसँगै जोडिएका बर्दिबास–७ र ९ तथा धनुषाको बटेश्वर गाउँपालिकाका खोरिया, भूचक्रपुर र राजसखुवासम्मका किसानका ओल र मसला उत्पादन किन्ने गरेको छ ।
संस्थाले तरकारी, अचार बनाइने ओल र मसला जातिका अदुवा, बेसार र खुर्सानी किन्न थालेपछि भङ्गाहा, बर्दिबास, प्रेमनगर, बटेश्वरलगायत स्थानका किसानलाई बजारको चिन्ता हटेको छ । ‘अघिअघि ओल, अदुवा बेच्न टाढाटाढाको बजार गइन्थ्यो । अहिले गढीमाई सहकारीले किन्न थालेपछि धेरै सजिलो भएको छ,’ प्रेमनगरका ओल किसान सुफल महतोले भने ।
‘हर्दी (बेसार), खुर्सानी र अदुवा हाम्रो यताका मुख्य मसला खेती हुन् । यी सबै संस्थाले किन्छ,’ पशुपतिनगरकी पारोवती महतोले भने, ‘संस्थाले किन्न थालेपछि ढुक्क भएका छौं । आम्दानी पनि प्रशस्त हुन थालेको छ । रकम एकमुष्ट पाइने भएपछि गरगहना जोरजाम र अन्य महत्त्वपूर्ण गर्जो टार्न पाइएको छ ।’
संस्थाले बीउ वृद्धि र बाहिरी बजारको आपूर्ति गर्न थालेपछि स्थानीय उत्पादन किन्न थालेको जनाएको छ । अहिले दैनिकजसो नै ओल र मसला तौलाउन किसान आउने गरेका संस्थाका अध्यक्ष सत्यनारायण यादवले बताए । उनका अनुसार गत असोजयतादेखि संस्थाले करीब रु १० लाखभन्दा बढीको उक्त उत्पादन किनेर मुलुकका विभिन्न स्थानमा पठाएको छ ।
यहाँको ओल बीउका लागि सूदुरपश्चिमको डडेलधुरासम्म पुर्याइएको अध्यक्ष यादवले जानकारी दिए । ‘अहिले अन्य जिल्लाका कृषि सहकारीले ओल, बेसार र अदुवा माग्ने गरेका छन्,’ उनले भने, ‘यस वर्ष हालसम्म पूर्वको कोशी र पश्चिमको कञ्चनपुर, कैलाली र डडेलधुरासम्म दुई सय क्विन्टलभन्दा बढी ओल पठाएका छौं ।’
संस्थाको आफ्नै कार्यालय भवन र सुरक्षित भण्डार कक्ष भएकाले किनिएका सामग्री सुरक्षित भण्डारण गरेर मागअनुसार अन्यत्र पठाइने गरिएको यादवको भनाइ थियो ।
गढीमाई कृषि सहकारी संस्थाले स्थानीय उत्पादन किन्न थालेपछि उत्पादनमा पनि वृद्धि हुँदै गएको कृषि ज्ञान केन्द्र, महोत्तरीले जनाएको छ । महोत्तरीका भङ्गाहा, बर्दिबास र गौशाला नगरक्षेत्र ओल र मसलाखेतीको उर्वर क्षेत्र मानिन्छ । रासस