काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।
आइतवार प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ६५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । आइतवारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ वृद्धि भएको छ । आइतवार प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने २ हजार ९५ रुपैयाँ निर्धारण भएको महासङ्घले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा पनि सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २ हजार ७२७ दशमलव ९१ अमेरिकी डलर पुगेको छ । यो मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा ५ दशमलव ६७ अमेरिकी डलरले बढी हो ।