काठमाडौं । सरकारले सुनको व्यापारका लागि मापदण्ड निर्धारण गर्न नसक्दा सुन बजारमा मनोमानी चलेको छ । विगत लामो समयदेखि सुन बजारमा व्यवसायीको मनोमानी चल्दा पनि सरकार मुकदर्शक भएको स्वयम् व्यवसायीले बताएका छन् । बजारमा कमसल, बढी जर्ती काटिएको र वास्तविक मूल्यभन्दा बढीमा सुन विक्री भएको समाचार प्रकाशित भइरहेका छन् । तर, यसको नियमन गर्ने अख्तियार पाएको वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालय भने व्यवसायीलाई नियमन गर्ने निर्देशिका पारित गर्न नसकेर विगत ६ महीनादेखि त्यत्तिकै अल्झिरहेको छ । आमजनताको धार्मिक तथा सांस्कृतिक पक्षसँग जोडिएको सुनको भाउ विगत केही महीनाको तुलनामा करीब रू. १० हजार घट्दा पनि सुनको गुणस्तरमा लागेको प्रश्नचिह्नले गर्दा निर्धक्क भएर सुन किन्न सक्ने अवस्था छैन ।
नेपाल सुनचाँदी व्यवसायीले निर्धारण गरेको भाउभन्दा प्रतितोला सुनमा रू. २ देखि ३ हजार बढी तिर्दा पनि जर्तीबाट समेत सोभन्दा बढी नाफा व्यवसायीले असुलिरहेका छन् । एक तोलाको सामान्य सिक्री किन्दा पनि असनको ‘अन्नपूर्ण ज्यास पस’ले १२ लाल जर्तीसहित निर्धारित भाउभन्दा तोलामै रू. ३ हजार बढी लिएको पर्वतकी आरती भुसालले बताइन् । एक तोलाको एउटा साधारण सुनको सिक्रीमा ६ लालदेखि ९ लालसम्म जर्ती काट्न पाउने महासङ्घले जारी गरेको नियमावलीमा उल्लेख भए पनि एउटै सिक्रीमा ३ लालसम्म बढी जर्ती तिरिरहेका छन् उपभोक्ताले ।
ललितपुरकी अनीता खड्काले पनि १८ लाल जर्तीको थप मूल्य तिरेर गतसाता दुई तोलाको ‘नेक्लेस’ किनिन् । व्यवसायीसँग त्यतिधेरै जर्ती नकटाउन आग्रह गर्दा नेक्लेस नै नलैजान भनेपछि उनले सुनको भाउ घटेको अवसर पारेर नेक्लेस किनेकी हुन् । यी त प्रतिनिधि पात्रमात्र हुन्, बजारमा खुलेयाम आवश्यकताभन्दा बढी जर्ती र निर्धारित भाउमा वृद्धि गरिएर सुन विक्री भइरहेको स्वयम् व्यवसायीले नै स्वीकारेका छन् । ‘बजारमा सुनको अभाव छ, त्यस्तो अवस्थामा पनि उपभोक्ताको गर्जो टार्न सुन उपलब्ध गराइरहेका छौं,’ नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले भने । केही व्यवसायीबाट गुणस्तरमा मनोमानी भइरहेको छ, त्यसलाई सच्याउनतिर महासङ्घ लागिपरेको उनले बताए ।
सरकारले पारित गर्न लागेको सुन निर्देशिकामा बढीमा ८ प्रतिशतसम्म मात्र जर्ती कटाउन पाउने व्यवस्था भएपछि व्यवसायीले १५ प्रतिशतसम्म जर्ती काट्न पाउने व्यवस्था हुनुपर्ने माग गरेपछि निर्देशिका नै अन्योलमा परेको छ ।