भदौ १६, सुर्खेत । नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखाले महसुल नतिर्ने ग्राहकको लाइन् काट्न शुरु गरेको छ । प्राधिकरणका अनुसार एक सातामा १२ जना ग्राहकको लाइन् काटिएको छ । ‘वारम्वार ताकेता गर्दा पनि विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्न केन्द्रबाट निर्देशन भएको छ’ विद्युत प्राधिकरण शाखा सुर्खेतका प्रमुख दीपकजंग चौधरीले भने, ‘एक साताको अवधिमा १२ जना ग्राहकको लाइन काटेका छौं ।’
प्राधिकरणका अनुसार विरेन्द्रनगर–६ का मानबहादुर शाही, खातिमा साई, लुम्विनी सेलर मिल, खातिमा खाद्य उद्योग, काँक्रेविहार वाटर एण्ड फ्रुट इण्डष्ट्रिज, मुस्कान राईस मिल एण्ड सेलर मिल, भेरी मेसिनरी उद्योगलगायतको लाइन काटिएको हो । लाइन काटिएका ग्राहकहरुले केही दिनपछि जरिवाना तिरेर पुनः लाइन जोडेको उनले बताए ।
प्राधिकरणका अनुसार सुर्खेतमा गत आर्थिक वर्षसम्म तीन करोड ९५ लाख १२ हजार दुई सय ६ रुपैयाँ बक्यौता छ । सबैभन्दा बढी सडक बत्तीको बक्यौता रहेको कार्यालयको भनाई छ । सडक बत्ती वापत विरेन्द्रनगर नगरपालिकाले प्राधिकरणलाई दुई करोड १८ लाख ६३ हजार ५५ रुपैयाँ तिर्न बाँकी छ । ‘वारम्वार ताकेता गर्दा पनि नगरपालिकाले सडक बत्तीवापतको महसुल तिरेको छैन ’ उनले भने, ‘यसले गर्दा बक्यौता बढी देखिएको हो ।’
यस्तै सर्वसाधारणबाट एक करोड ३८ लाख रुपैयाँ उठ्न बाँकी छ भने सरकारी कार्यालयको ६३ हजार रुपैयाँ उठ्न बाँकी छ । ‘समग्रमा हेर्दा विद्युत सुर्खेतको बक्यौता रकम कम भएपनि सडक बत्तीको महसुल नउठ्दा धेरै देखिएको हो’ उनले भने, ‘सरकारी कार्यालयको उठ्न बाँकी महसुल लगभग शून्य जस्तै छ ।’ प्राधिकरणले बाँकी महसुल तत्कालै तिर्न अनुरोध पनि गरेको छ । ‘आफूले तिर्न बाँकी रहेको महसुल तिरेर सरकारलाई सहयोग गर्न हामीले आग्रह गरेका छौं,’ प्राधिकरण प्रमुख चौधरीले भने, ‘लाइन काटिसकेपछि जरिवाना तिर्नु भन्दा पहिले नै तिर्दा सहज हुन्छ ।’