काठमाडौं। जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजित ‘इमर्जिङ इन्स्योरेन्स अवार्ड’मा सम्मान गरिएको छ । शुक्रवार सम्पन्न अवार्डको पाँचौं संस्करणअन्तर्गत थाइल्याण्डको बैंककमा आयोजित ‘पाँचौं इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२४’मा सूर्यज्योति लाइफले ‘बेस्ट एनोभेसन्स लेड बाई टेक्नोलोजी एण्ड इन्स्योरटेक–नेपाल’ विधामा अवार्ड प्राप्त गरेको हो ।
उक्त कार्यक्रममा भारत, नेपाल, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार, थाइल्याण्ड लगायत देशका इन्स्योरेन्स कम्पनीबाट उच्च पदाधिकारीहरू उपस्थिति थिए । चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्ल्यूसी, इन्डियन इन्स्टिच्युट अफ इन्स्योरेन्स, अन्तरराष्ट्रिय बीमा विज्ञ लगायत प्रतिष्ठित संस्थाबाट स्वतन्त्र रूपमा मूल्यांकन गरी विभिन्न वित्तीय सूचकांकमा उत्कृष्ट कार्यसम्पादनको आधारमा अवार्ड प्रदान गरिएको बताइएको छ ।
उक्त विधाको अवार्ड कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले ग्रहण गरेका थिए । सो अवसरमा कम्पनीका सञ्चालक हेमन्त नहाटा, कर्मचारीद्वय निरञ्जन रेग्मी र गीता बस्नेत पनि उपस्थित थिए । कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरेका कम्पनीका सञ्चालक नहाटा प्यानल डिस्कसनमा वक्ताका रूपमा सहभागी थिए । सञ्चालक नहाटाले सूर्यज्योतिले अवलम्बन गरेको डिजिटल प्रविधिको रणनीति र हाल नेपालमा बीमा क्षेत्रको अवस्था र यसका चुनौतीमाथि प्रकाश पारेका थिए ।