काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी वैशाख १९ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ ।
चैत २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रूपन्देहीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा अपराह्न ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै प्रस्तावित कुल ५ दशमलव २६ प्रतिशत लाभांशलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
आर्थिक वर्ष ०७९/८० मा लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष भने लाभांश वितरण गर्न लागेको छ । आर्थिक वर्ष ०७५/७६ देखि लाभांश वितरण गर्न शुरु गरेको कम्पनीले हालसम्म एक आर्थिक वर्ष मात्र लगानीकर्ताको हात खाली बनाएको देखिन्छ ।
यस वर्ष कम्पनीले हाल कायम कायम चुक्तापूँजी १४ करोड ६१ लाख ३८ हजार रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअघिका वर्षहरूमा कम्पनीले २० प्रतिशतभन्दा माथि अधिकतम ३४ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो ।
उल्लेखित प्रस्तावहरूसँगै बोनस शेयरपछि चुक्तापूँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ । त्यसका लागि आवश्यक जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले वैशाख ११ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा वैशाख १० गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।