काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि फागुन २१ गतेसम्म निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) आगामी शुक्रवार बाँडफाँट हुने भएको छ ।
विक्री प्रबन्धक एनएमबि क्यापिटलले शुक्रवार बिहान १० बजे आफ्नै कार्यालय बालुवाटार, काठमाडौंमा एफपीओ बाँडफाँट गर्न लागिएको जानकारी दिएको हो ।
कम्पनीको एफपीओ खरीदका लागि ११९ दशमलव ९७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार अन्तिम दिनसम्म १८ लाख ८४ हजार ७१० जनाले २ करोड ३४ लाख ८७ हजार ८१० कित्ता एपपीओ माग गर्दै आवेदन दिएका हुन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गरेको हो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको एफपीओ गोलाप्रथाको माध्यमबाट बाँडफाँट हुनेछ ।
भाग्यमानी १९ हजार ५७७ जना योग्य आवेदकहरूले मात्र कम्पनीको एफपीओ प्राप्त गर्नेछ । यी आवेदकहरूमा १० कित्ताका दरले पहिलो चरणमा एफपीओ बाँडफाँटपछि बाँकी रहेको ३ कित्ता एफपीओ एक कित्ताका दरले तीन जनालाई थप एक कित्ताका दरले एफपीओ बाँडफाँट हुनेछ ।
दोस्रो बजारमा कम्पनीको शेयरको मूल्य प्रतिकित्ता ९८१ रुपैयाँ कायम रहेको छ । यस कम्पनीले नेपालभरीका तराई तथा पहाडी ३६ जिल्लाहरूमा यस कम्पनीले ९१ शाखा कार्यालयमार्फत १ लाख २९ हजारभन्दा बढी सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
अधिकृत पूँजी ८० करोड रुपैयाँ रहेको यस कम्पनीको जारी पूँजी ६९ करोड ६ लाख ८२ हजार रुपैयाँ रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ६७ करोड ११ लाख ४ हजार रुपैयाँ छ । एफपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ६९ करोड ६ लाख ८२ हजार रुपैयाँ कायम हुनेछ ।
यस कम्पनीले जनकपुर लघुवित्त वित्तीय संस्थालाई २०७७ असोज २५ गते १०० बराबर ७० को अनुपातमा शेयर आदानप्रदान गर्दै प्राप्ति गरेको थियो । प्राप्ति गरेको संस्था जनकपुर लघुवित्तले प्रारम्भिक सार्वजनिक निष्कासन नगरेको अवस्थामा निष्कासन हुन बाँकी शेयर एफपीओमार्फत जारी गरेको हो ।