काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रमा तेस्रो मोबाइल अपरेटर बन्न आफू तयार भएको वर्ल्डलिंकले बताएको छ ।
अहिले बहुमत सरकारी शेयर रहेको नेपाल टेलिकम र निजीक्षेत्रबाट सञ्चालित एनसेलले नेपालमा मोबाइल सेवा दिइरहेका छन् । निजीक्षेत्रमा सेवाप्रदायक एउटामात्रै हुँदा प्रतिस्पर्धा कम भएको भन्दै नेपालमा तेस्रो सेवाप्रदायकको खोजी भइरहेका बेला वर्ल्डलिंकले दूरसञ्चार क्षेत्रमा समेत आउने चाहना व्यक्त गरेको हो ।
इन्टरनेटमा ठूलो विदेशी लगानी भित्त्याउन सफल वर्ल्डलिंकले बिहीवार फिनफन्डसँग सम्झौतापछिको अनौपचारिक कुराकानीमा कम्पनीका वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले आफूहरू तेस्रो टेलिकम अपरेटरका रूपमा आउन तयार रहेको बताए ।
टेलिकम चलाउन आवश्यक स्रोत र शीप आफूहरूसँग रहेको भन्दै वर्ल्डलिंक तेस्रो अपरेटरका रूपमा अघि आउन चाहेको उनको भनाइ छ । ‘हामी पनि मोबाइल सेवा दिन तयार छौं । पाउँछौं/पाउँदैनौं त्यो त हाम्रो हातमा छैन,’ अग्रवालले भने । इन्टरनेटमा सफल वर्ल्डलिंक मोबाइल सेवामा समेत सफल हुने उनको दाबी छ ।सरकारले तेस्रो मोबाइल अपरेटर ल्याउने तयारीसमेत गरिरहँदा उनको यो भनाइलाई अर्थपूर्ण हिसाबले हेरिएको छ ।
त्यसो त, केही समयअघि नेपाल दूरसञ्चार प्राधिकरणले यस सम्बन्धमा एउटा अध्ययन समिति नै बनाएको थियो । प्राधिकरणका निर्देशक अम्बर स्थापितको संयोजकत्वमा गठित समितिले अध्ययनको कामलाई तीव्र पारिरहेको छ । समितिले तेस्रो कम्पनी ल्याउने गरी प्रतिवेदन बनाउन थालिसकेको छ ।
नयाँ अनुमति प्रदान
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले वर्ल्डलिंक कम्युनिकेसन्सलाई नयाँ अनुमतिपत्र (लाइसेन्स) प्रदान गरेको छ ।
प्राधिकरणले संशोधित दूरसञ्चार नियमावली २०५४ अनुसार बिहीवार वर्ल्डलिंकलाई इन्टरनेट सेवाप्रदायक (आईएसपी) र नेटवर्क सेवाप्रदायक (एनएसपी)को २५ वर्षे नयाँ लाइसेन्स प्रदान गरेको हो ।
प्राधिकरणले ५ वर्षमा नवीकरण गर्नुपर्ने गरी नयाँ सरह वर्ल्डलिंकलाई इजाजतपत्र जारी गरिदिएपछि मोबाइल सेवामा समेत आउन वर्ल्डलिंकलाई केही सहज भएको छ ।
कम्पनीले प्राधिकरणबाट २०५५ चैत १६ गते आईएसपी र २०५६ को साउन १९ गते एनएसपीको लाइसेन्स पाएको थियो ।
दूरसञ्चार ऐन, २०५३ मा दूरसञ्चार सेवाप्रदायक कम्पनीको लाइसेन्स अवधि २५ वर्षको मात्रै हुने व्यवस्था थियो । त्यसैले गत चैत र साउनयता वर्ल्डलिंकले नयाँ लाइसेन्स पाउने वा नवीकरण हुने अन्योल थियो । तर, सरकारले हालै दूरसञ्चार नियमावली २०५४ संशोधन गर्दै २५ वर्ष पूरा गरेका कम्पनीलाई पुन: अनुमतिपत्र दिन सकिने व्यवस्था गरिदिएको थियो ।
प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले वर्ल्डलिंकलाई ५ वर्षका लागि नयाँ लाइसेन्स दिएको बताए । दुवै लाइसेन्स म्याद नाघेको मितिदेखि नै लागू हुने गरी प्रदान गरिएको उनको भनाइ छ ।