काठमाडौं । झन्डै २ दशकपछि सरकारले थप सार्वजनिक संस्थान निजीकरण प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कम्तीमा आठ संस्थान निजीकरण गर्न खोजेको हो ।
लामो समयदेखि निष्क्रिय रहेको निजीकरण समितिको सोमवार बसेको बैठकले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानको निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिश गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको बैठक बसेको हो ।
बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौंडा कपडा उद्योग वर्गीकरणका लागि प्रस्ताव सिफारिश गर्ने निर्णय गरेको हो । यस्तै विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर र हेटौंडा सिमेन्ट कारखानाको पनि वर्गीकरणका लागि प्रस्ताव सिफारिश गर्ने निर्णय भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार मन्त्रिपरिषद्बाट वर्गीकरण भएपछि सम्पत्ति तथा दायित्व मूल्यांकनका लागि विशेषज्ञसहितको अध्ययन समिति गठन गरिनेछ । सम्पत्ति र दायित्व मूल्यांकन भएपछि विज्ञको सुझावका आधारमा निजीकरणको ढाँचा र प्रक्रिया पहिचान गरी नेपाल सरकारसमक्ष सिफारिश गरिनेछ ।
२०४९ सालमा आर्थिक उदारीकरणको नीति लिएसँगै शुरू गरिएको सरकारी संस्थान निजीकरण गर्ने प्रक्रिया २०६३ सालसम्म चलेको थियो । तत्कालीन सरकारले संस्थानको दक्षता वृद्धि गरी उत्पादकत्व बढाउने, सरकारलाई परेको प्रशासनिक तथा वित्तीय भार कम गर्ने र निजीक्षेत्रको सहभागिता वृद्धि गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले २०५० देखि संस्थानको निजीकरण, खारेजी र विघटन प्रक्रियालाई संस्थागत रूपमै अघि बढाएको थियो ।
- निजीकरणका निम्ति वर्गीकरण सिफारिश गर्ने निर्णय, सूक्ष्म अध्ययनविना निजीकरण नगर्न विज्ञको सुझाव
- २०५० सालदेखि संस्थानको निजीकरण थालेको सरकारले २०६३ सालपछि उक्त प्रक्रिया बन्द गरेको थियो
- विगतमा निजीकरणको विरोधमा रहेका वामपन्थी शक्ति निरन्तर सत्तामा रहँदा निजीकरण ओझेलमा
२०६३ वैशाखमा नेपाल रोजिन एन्ड टर्पेन्टाइन उद्योग निजीकरण भएपछि कुनै पनि सार्वजनिक संस्थान निजीकरण भएको छैन । २०६३ सालपछि सशस्त्र विद्रोह गरिरहेको माओवादी पनि शान्तिपूर्ण राजनीतिमा आयो । त्यसपछि विगतमा भएको निजीकरणको विरोधमा रहेका नेपालका वामपन्थी शक्तिहरू निरन्तर सत्तामा रहे र निजीकरण सरकारको प्राथमिकतमा परेन ।
तर, निरन्तर अव्यवस्था र राजनीतिक भर्तीकेन्द्र बनेका सार्वजनिक संस्थानहरू राम्ररी सञ्चालन हुन सकेनन्, बरु बन्द भए । यसबीचमा केही संस्थानलाई फेरि सञ्चालनमा ल्याउने भनेर बजेटमा घोषणा हुँदै आए पनि बन्द भएका संस्थानहरू सञ्चालन हुन सकेका छैनन् । बन्द रहेका केही सार्वजनिक संस्थान निजीकरण गर्ने नीति ओली सरकारले लिएको हो ।
जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौंडा कपडा उद्योग, विराटनगर जुट मिल, बुटवल धागो कारखाना र गोरखकाली रबर उद्योग विगत लामो समयदेखि बन्द र रुग्ण छन् । उदयपुर र हेटौंडा सिमेन्ट कारखानाको कार्यसम्पादन स्तर कमजोर हुनुका साथै निरन्तर घाटामा छन् ।
‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८१’ ले पनि सरकारका २६ सार्वजनिक संस्थानले गत आर्थिक वर्षमा ४८ अर्ब ५१ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको देखाउँछ । ४४ सार्वजनिक संस्थान अस्तित्वमा रहेकोमा १५ ओटा घाटामा गएको देखिन्छ । तीनओटाको कारोबार शून्य छ । आव २०७८/७९ मा पनि ४४ सार्वजनिक संस्थान सञ्चालनमा थिए । तीमध्ये २५ नाफामा र १७ घाटामा थिए । आव २०७९/८० मा अघिल्लो वर्षको तुलनामा संस्थानको समग्र खुद नाफामा ३०४६.२० प्रतिशतले वृद्धि भएको देखिन्छ ।
सरकारको नियन्त्रणात्मक स्वामित्व भएका निकायलाई सार्वजनिक संस्थानका रूपमा लिइन्छ । यही अभ्यासअन्तर्गत औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा ४, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा ५, जनोपयोगी क्षेत्रमा ५ र वित्तीय क्षेत्रमा ९ सार्वजनिक संस्थान अस्तित्वमा छन् ।
सार्वजनिक संस्थानको खुद नाफा बढ्नुको प्रमुख कारण नेपाल आयल निगम हो । अन्तरराष्ट्रिय बजारमा इन्धनको मूल्य अचाक्ली बढेपछि आव २०७८/७९ मा निगम ३८ अर्ब १७ करोड ७८ लाख रुपैयाँ खुद नोक्सानीमा थियो । अघिल्लो वर्ष इन्धनको मूल्यमा आएको गिरावट र ऋण तिर्नुपर्ने दायित्व बाँकी रहेको जनाउँदै निगमले स्वचालित मूल्य प्रणाली पूर्णरूपमा कार्यान्वयन नगर्दा नाफामा गएको हो । अघिल्लो आव २०७९/८० मा निगमको खुद नाफा ११ अर्ब ७२ करोड ३० लाख रुपैयाँ छ ।
समीक्षाअनुसार समग्रमा औद्योगिक क्षेत्रका संस्थान घाटामा छन् । यी क्षेत्रका संस्थान १ अर्ब ४८ करोड ५० लाख घाटामा रहेको उल्लेख छ । व्यापारिक क्षेत्रका संस्थान ११ अर्ब ८१ करोड १४ लाख नाफामा रहेको समीक्षामा उल्लेख छ ।
त्यस्तै, समग्र सेवाक्षेत्रका संस्थान २ अर्ब २२ करोड नाफामा छन् । सामाजिक क्षेत्रमा रहेका संस्थान भने १२ करोड ५ लाख नोक्सानीमा छन् । जनोपयोगी क्षेत्रका संस्थानको अवस्था सन्तोषजनक छ । समग्रमा संस्थानको नाफा १७ अर्ब १० करोड ४० लाख रुपैयाँ छ । वित्तीय क्षेत्रका संस्थान सबै नाफामा थिए । समग्रमा संस्थानले १८ अर्ब ९८ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको देखिएको थियो ।
नेपाल वायुसेवा निगम २०७६/७७ देखि समीक्षा अवधिसम्म निरन्तर नोक्सानीमा छ । आव २०७८/७९ को तुलनामा खुद नोक्सान घटे पनि निगमको वित्तीय अवस्था सन्तोषजनक नभएको उल्लेख छ । ‘वित्तीय संस्थाबाट कर्जा लिएर खरीद गरिएका जहाजको साँवा र ब्याज भुक्तानी गर्न समस्या हुनु, उच्च प्रशासनिक खर्च, जहाजको न्यून सञ्चालन, समयमा उडान नहुनु, व्यावसायिक योजनाको न्यून कार्यान्वयनले अवस्था खस्कँदो छ,’ समीक्षामा भनिएको छ । वायुसेवा निगमजस्तै अन्य संस्थानको उद्देश्यमा स्पष्टता र एकरूपता कायम हुन सकेको छैन ।
पूर्वसचिव विमल वाग्ले अहिले नै एउटै बास्केटमा राखेर निजीकरण गर्न नहुने बताउँछन् । उनका अनुसार सरकारले निजीकरणको प्रस्ताव अघि बढाउने भनेका संस्थानहरू अहिले आआफ्नै अवस्थामा छन्, तिनीहरूको अवस्थाबारे पहिला सूक्ष्म अध्ययन हुन जरुरी छ । ‘अध्ययनविनै निजीकरण गरिनु हुँदैन, अहिले सरकारले गरेको गृहकार्य अत्यन्तै कमजोर छ,’ पूर्वसचिव वाग्लेले आर्थिक अभियानसँग भने ।