काठमाडौं । सोमवार तीन कम्पनीको कुल ६९ लाख ७ हजार २५४ कित्ता शेयर निष्कासनमा आएको छ । दुई सूचीकृत कम्पनी कुमारी बैंक र नेरुडे लघुवित्त वित्तीय संस्थासँगै लक्ष्मी स्टील्स लिमिटेडको उल्लेखित कित्ता शेयर निष्कासनमा आएको छ ।
यी सबै शेयर संस्थापकतर्फको रहेको सम्बन्धित कम्पनीले उल्लेख गरेका छन् । कुमारी बैंकले ४५ लाख ४६ हजार ३८ कित्ता, नेरुडे लघुवित्तले ३ लाख ६१ हजार २१६ कित्ता र लक्ष्मी स्टील्सले २० लाख कित्ता संस्थापक शेयर विक्रीका लागि सूचना जारी गरेका हुन् । लक्ष्मी स्टील्सले कम्पनीका संस्थापकतर्फबाट चुक्ता हुन बाँकी २० लाख कित्ता जगेडा शेयर विक्री गर्न लागेको हो ।
यस कम्पनीले आगामी १५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुले कम्पनीको केन्द्रीय कार्यालय तीनकुने, काठमाडौंमा आवेदन दिन सक्ने जानकारी दिएको छ । लक्ष्मी स्टील्सको शेयरको मूल्य प्रतिकित्ता २६५ रुपैयाँ तोकिएको छ ।
कुमारी बैंक र नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयर पनि विद्यमान संस्थापकहरूलाई प्राथमिकतामा राखेर विक्रीमा आएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र सम्बन्धित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् ।
कुमारी बैंकको शेयर खरीदका लागि बैंकको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । नेरुडे लघुवित्तको शेयर खरीदका लागि भने कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेलापञ्चोकमा आवेदन दिनुपर्नेछ । यी तीन कम्पनीको शेयर विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा विक्री प्रक्रिया अघि बढ्नेछ ।