काठमाडौं
समष्टिगत आर्थिक परिसूचकहरूको स्थिति देखाउने विश्वसनीय तथ्याङ्कको माग बढिरहेका बेला सरकार भने त्यस्ता तथ्याङ्क व्यवस्थापनमा उदासीन देखिएको छ । केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७०/७१ मा शुरू गरेको राष्ट्रिय लेखाको त्रैमासिक गणनालाई निरन्तरता दिन नसकेपछि सरकार तथ्याङ्क व्यवस्थापनमा उदासीन देखिएको हो । वार्षिक तथ्याङ्कका आधारमा अर्थतन्त्रका साना समस्या समाधान गर्ने व्यावहारिक नीति बनाउन सरकारलाई असहज भएको भन्दै त्यसबेला राष्ट्रिय लेखाको त्रैमासिक गणना थालिएको थियो ।
विश्व बैङ्कको आर्थिक तथा प्राविधिक सहयोगमा पहिलोपटक थालिएको त्रैमासिक गणनाको तथ्याङ्क प्रयोग हुनु अघिदेखि नै गणना अवरुद्ध छ । विभागको वेबसाइटमोविभागले तयार पारेको आव २०६७/६८ देखि आव २०७०/७१ को दोस्रो त्रैमाससम्मको त्रैमासिक तथ्याङ्क अहिले पनि उपलब्ध छ । तथ्याङ्क विभागसम्बद्ध स्रोतले पर्याप्त कर्मचारी र आवश्यक तथ्याङ्क जुटाउन नसकेपछि त्रैमासिक गणना रोकिएको बताएको छ ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले तत्कालीन समयमा भूकम्पको कार्यबोझले त्रैमासिक गणना रोकिएको भए पनि अब त्यसले नियमितता पाउनुपर्ने बताए । उनले भने, ‘यो अत्यन्त जरुरी छ, नियमित भएर आउनुपर्छ अब ।’ आर्थिक मुद्दाले प्राथमिकता पाएसँगै देशमा विश्वसनीय तथ्याङ्कको माग बढेको सरोकारवालाहरू बताउँछन् । अभियानसँगको कुराकानीमा एक अर्थविद्ले सुदृढ हुनुपर्ने तथ्याङ्क प्रणाली अवरुद्ध हुनु तथ्याङ्क व्यवस्थापनप्रतिको सरकारी उदासीनता भएको तर्क गरे । तर, केन्द्रीय तथ्याङ्क विभाग प्रमुख सुमनराज अर्यालले विभागमा त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) गणनालाई निरन्तरता दिनेबारे काम भइरहेको बताए । ‘हामीले त्यसकै लागि काम गरिरहेका छौं, छिट्टै तथ्याङ्क अद्यावधिक हुँदै छन्,’ उनले भने । विश्वका विभिन्न देशमा सरकारले ३/३ महीनामा राष्ट्रिय तथ्याङ्क गणना गर्ने/गराउने र सार्वजनिक गर्ने परम्परा छ । नेपालमा पनि तथ्याङ्क प्रणाली स्तरीय, परिष्कृत र बलियो हुनुपर्ने आवाज उठ्ने गरेको छ ।पर्याप्त कर्मचारी र आवश्यक तथ्याङ्क जुटाउन नसकेपछि त्रैमासिक गणना रोकिएको विभागको भनाइ गणनाले नियमितता पाउनुपर्ने अर्थविद्को माग