जापान । जापानको राजधानी टोकियोले डुब्दै गएको राष्ट्रिय जन्मदरलाई बढावा दिन आफ्नै डेटिङ एप शुरू गर्ने भएको छ। जन्मदर बढाउन जापानको टोकियो शहर सरकारले विकास गरेको ‘डेटिङ एप’ यो गर्मीयामदेखि सञ्चालनमा आउने टोकियोका एक अधिकारीले बताए ।
जापानी ‘डेटिङ एप’ प्रयोगकर्ताको आम्दानी सामान्य भए हुनेछ तर टोकियोले आवेदकको वार्षिक तलब प्रमाणित गर्न कर प्रमाणपत्रको रसिद्को आवश्यकता गरेको छ ।गत वर्षको अन्त्यदेखि निःशुल्क परीक्षण चलिरहेको एपको दर्ता प्रक्रियाको एक भागको रूपमा प्रयोगकर्ताको पहिचान पुष्टि गर्न अन्तरवार्ता पनि आवश्यक हुनेछ ।
‘डेटिङ एप’ का प्रयोगकर्ताहरूले आफूहरू कानुनीरूपमा एकल रहेको प्रमाणित गर्ने कागजात पेस गर्नुपर्नेछ । र, विवाह गर्न इच्छुक रहेको भन्दै एक पत्रमा हस्ताक्षर गर्नुपर्नेछ ।
जापानको स्वास्थ्य मन्त्रालयले बुधवार देशको जन्मदर लगातार आठौं वर्षसम्म सबैभन्दा कम भएको र सरकारले अभिभावकका लागि सहयोग सुधार गर्न पहल गरिरहेको अवस्थामा देशको जन्मदर ‘गम्भीर’ भएको जनाएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जापानको जन्मदर अर्थात् एक महिलाले आफ्नो जीवनमा जन्माउन सक्ने औसत सन्तानको सङ्ख्या गत वर्ष १.२० रहेको छ, जुन जनसङ्ख्या सन्तुलन राख्न आवश्यक पर्ने २.१ बालबालिकाभन्दा निकै कम हो ।
यो सङ्ख्या सन् २०२२ मा १.२६ बाट घटेको थियो । १२ करोड ४० लाख जनसङ्ख्या भएको देशमा यो लगातार आठौं वार्षिक गिरावट हो । 'जन्मदरमा निरन्तर गिरावट आउनु ‘चिन्ताजनक’ अवस्था हो,' स्वास्थ्य मन्त्रालयका एक अधिकारीले एएफपीसँग भने, 'आर्थिक अस्थिरता, काम र बच्चा हुर्काउन कठिनाइ जस्ता विभिन्न कारण यो सङ्ख्या घट्नुमा जिम्मेवार हुन सक्छ ।'