काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लगाएको चर्को कर वृद्धिको प्रभाव अन्तरराष्ट्रिय शेयर बजारमा देखिएको छ । शनिवार देखि लागु हुने गरि बुधवार आधारभूत कर वृद्धि गरिएको थियो । कर वृद्धि लागु भएपछि खुलेका अधिकांश बजारहरूमा नेगेटिभ सर्किट लागेको छ ।
अेमेरिकी बजार, युरोपियन बजार तथा एसिया प्यासिफिक क्षेत्रका ठूला बजारहरू घटेका छन् ।शुक्रबार वाल स्ट्रिटमा भएको गिरावटपछि सोमबार एशियाली शेयर बजारहरू धराशायी भएका छन् । ट्रम्पले ट्यारिफ बढाएपछि र त्यसको जवाफ स्वरूप बेइजिङको प्रतिक्रिया र शुक्रबार वाल स्ट्रिटमा भएको गिरावटको असर सोमबार एशियाली बजारमा देखिएको छ।
भारतको मुख्य शेयर सूचकाकं ओपनिङमै ३ प्रतिशतले घट्यो
मुम्बई । भारतको बेन्चमार्क निफ्टी सुचकांक तीन प्रतिशतभन्दा बढी तल झरेका कारण सोमबारको कारोबारमा भारतीय शेयरहरूको मूल्यमा गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता भारतबाट हुने आयातमा २६ प्रतिशत कर लगाएपछि नयाँदिल्लीले भन्सार शुल्क वृद्धिबाट हुने ‘प्रभाव’ र ‘अवसर’ दुवैको परीक्षण गरिरहेको बताएको थियो ।
नेसनल स्टक एक्सचेन्जमा सबैभन्दा ठूला भारतीय कम्पनी निफ्टी ५० तीन दशमलव ५५ प्रतिशतले घटेको थियो । भारतको शक्तिशाली सूचना प्रविधि कम्पनीहरू समावेश भएको निफ्टी आइटी पाँच दशमलव ५३ प्रतिशतले घट्यो । निफ्टी आइटीको सबैभन्दा ठूलो बजार संयुक्त राज्य अमेरिका हो । द टाइम्स अफ इन्डियाले शेयर बजारको गिरावटलाई ‘रक्तपात’ भनेको छ ।
चिनियाँ प्रतिकार र विश्वव्यापी मन्दीको चेतावनी अझ चर्को हुँदै गर्दा विश्वभरका देशहरूले नयाँ अमेरिकी भन्सार शुल्कको धारलाई कम गर्न सङ्घर्ष गरिरहेका छन् । विश्वव्यापी रूपमा खर्बौं डलरको स्टक नष्ट भएको छ र लगानीकर्ताहरू सुरक्षित सम्पत्तिमा सरेकाले सोमबार एसियाली इक्विटीहरूले अझ बढी क्षति बेहोरेका छन् ।
अमेरिकी बजामै पर्यो प्रभाव
अमेरिकी फ्युचर्स (शेयर बजारमा "फ्यूचर्स" भन्नाले भविष्यको मितिमा पूर्वनिर्धारित मूल्यमा खरिदकर्तालाई खरिद गर्न वा विक्रेतालाई कुनै विशेष सम्पत्ति (जस्तै स्टक, सूचकांक, वा वस्तुहरू बेच्न बाध्य पार्ने व्युत्पन्न सम्झौतालाई बुझाउँछ) हरूले पनि थप कम्जोर हुने संकेत दिएका छन् । एस एन्ड पी ५०० को २.५ प्रतिशत ले घट्यो, डाउ जोन्स इन्डस्ट्रियल एभरेजको २.१ प्रतिशत ले घट्यो र नासडाकको ३.१ प्रतिशत ले घट्यो।
शुक्रबार, कोभिडपछिको सबैभन्दा खराब बजार संकट देखिएको थियो । जहाँ एस एन्ड पी ५०० ६ प्रतिशत ले, डाउ ५.५ प्रतिशत ले र नासडाक कम्पोजिट ५.८ प्रतिशत ले गिरावटमा आयो। आइतबार बेलुका, ट्रम्पले आफ्नो अडान दोहोर्याउँदै भनेका छन्, "म चाहन्न कि विश्व बजारहरू झरून्, तर त्यस्तो ठूलो बिक्रीबाट म चिन्तित पनि छैन। कहिलेकाहीँ केही ठिक पार्न औषधि खानैपर्छ।"
एसियाली ठूला बजार पनि घटे
टोकियोको निक्केई सूचकांक बजार खुलेपछि झन्डै ८ प्रतिशत ले घट्यो । मध्यान्हसम्म यो ७.२ प्रतिशत ले घटेर ३१ हजार ३३७.७६ मा पुगेको थियो। अमेरिकी फ्युचर्समा तीव्र गिरावट आएपछि टोकियो स्टक प्राइस इन्डेक्स (टोपिक्स) को फ्युचर्स कारोबार केही समयका लागि स्थगित गरिएको थियो ।
सबैभन्दा धेरै घाटा बेहोर्ने कम्पनीमध्ये मिजुहो फाइनान्सियल ग्रुप थियो रह्यो । जसको शेयर ११.४ प्रतिशत ले घट्यो। मित्सुबिशी यूएफजे फाइनान्सियल ग्रुपको शेयर पनि १०.७ प्रतिशत ले घट्यो, किनभने लगानीकर्ताहरू व्यापार युद्धले विश्व अर्थतन्त्रमा पार्ने असरप्रति डराएका थिए।
ई–कमर्स कम्पनी अलीबाबा ग्रुप होल्डिङ्सको शेयर ९.९ प्रतिशत ले घट्यो, र अर्को प्रविधि कम्पनी टेन्सेन्ट होल्डिङ्स १०.८ प्रतिशत ले घट्यो।
दक्षिण कोरियाको कोस्पी ५.२ प्रतिशत ले घटेर २ हजार ३३६.८० मा पुगेको छ, भने अष्ट्रेलियाको एस एन्ड पी / एएसएक्स २०० ४ प्रतिशत ले घटेर ७ हजार ३६१.४० मा पुगेको छ, यद्यपि यसअघि यो ६ प्रतिशत भन्दा बढीले घटेको थियो।
एशियाली देशहरू विशेषगरी निर्यातमा निर्भर छन् भने तीमध्ये ठूलो हिस्सा अमेरिका जान्छ। नाटाक्सिसका गेरी एनजीका अनुसार, "बजारमा भएको गिरावटभन्दा पनि साना र व्यापारमा निर्भर अर्थतन्त्रहरूमा यसको प्रभाव र सम्भावित संकट नै सबैभन्दा ठूलो चिन्ता हो । ट्रम्पले अधिकांश देशहरूसँग चाँडै सम्झौता गर्छन् कि भनेर हेर्नु महत्वपूर्ण छ, कम्तिमा आंशिक रूपमा भए पनि।"
तेलको मूल्यमा पनि गिरावट आएको जनाइएको छ । विनिमय दरहरूमा पनि उतारचढाव देखियो। अमेरिकी डलरमा पनि गिरावट आएको छ । बजार विश्लेषकहरूका अनुसार, लगानीकर्ताहरूले आगामी दिन र हप्ताहरूमा अझै धेरै उतार-चढावको सामना गर्नुपर्ने देखिन्छ । किनभने व्यापार युद्ध छोटो समयमै समाधान हुने सम्भावना कम छ।
म्यानुलाइफ इन्भेस्टमेन्ट म्यानेजमेन्टका प्रमुख लगानी अधिकृत तथा वरिष्ठ पोर्टफोलियो प्रबन्धक नाथन थुफ्टका अनुसार, अब अझ धेरै देशहरूले अमेरिकाविरुद्ध प्रतिशोधस्वरूप ट्यारिफ लगाउने सम्भावना छ। धेरै देशहरू संलग्न भएका कारण, “हामीलाई लाग्छ यसबारे हुने सम्भावित वार्ताहरू सम्पन्न गर्न लामो समय लाग्नेछ।”उनले भने, “अन्ततः हाम्रो बुझाइमा बजारको अनिश्चितता र अस्थिरता केही समयसम्म कायम रहनेछ।”
यो घाटा तब आयो जब चीनले ट्रम्पले गत साता घोषणा गरेको ट्यारिफ वृद्धि बराबर नै ट्यारिफ घोषणा गर्यो । जसले व्यापार युद्धलाई थप चर्कायो। यसले विश्वव्यापी मन्दी निम्त्याउने खतरा ल्याएको छ। अमेरिकाको रोजगार प्रतिवेदन अपेक्षाभन्दा राम्रो भए पनि यसले बजारको गिरावट भने रोकेन।
अहिलेसम्म, व्यापार युद्धबाट वित्तीय बजारमा खासै कोहीले लाभ पाएको भने देखिएको छैन। रासस/एपी