बेइजिङ/वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा विश्वका दर्जनौं देशहरूमा लगाइएका "पारस्परिक" शुल्कहरू बुधबारदेखि लागू भएका छन् । ट्रम्पका कदमहरूले विश्वव्यापी व्यापार युद्धलाई अझ गहिरो बनाएको छ । मन्दीको डर बढाएका छ र विश्वभरका शेयर बजारमा तीव्र गिरावट ल्याएको छ। यद्यपि केही राष्ट्रहरूसँग वार्ताको तयारी समेत भइरहेको समाचारहरू आइरहेका छन् ।
बुधवार देखि लागु भएका ठूला करहरूले चिनियाँ सामानमा सबैभन्दा बढि (झन्डै १०४ प्रतिशत) प्रभावित बनेको छ । आधारभूत करहरू भने गत शनिवारबाट नै लागु भइसकेका छन् ।
- चिनियाँ सामानमा १०४ प्रतिशत शुल्क
- ट्यारिफहरू प्रतिस्पर्धी र मित्र राष्ट्रहरू दुवैलाई लक्षित, मन्दीको जोखिम
- थोरै राहात पछि विश्व बजार फेरि खस्किँदै
- जापान, दक्षिण कोरिया, भियतनाम व्यापार वार्ताको तयारीमा
शेयर इन्डेक्सहरू रातै
ट्रम्प प्रशासनले नयाँ शुल्कहरू घोषणा गरेदेखि विश्व बजारका अधिकांश ठूला शेयर इन्डेक्सहरू रातै देखिएका छन् । एस एन्ड पी ५०० सूचकांकबाट लगभग ६ ट्रिलियन अमेरिकी डलर मूल्य बराबर नोक्शानी भएको छ । यो १९५० को दशकमा सूचकांक सञ्चालन भएयताकै चौंथो सबैभन्दा ठूलो गिरावट भएको बताइएको छ । सूचकांक "बियर मार्केट" नजिक पुगेको छ जुन हालको उच्चतम बिन्दुबाट २० प्रतिशतले घट्नु हो ।
एशियाली बजारहरूमा पनि बुधबारदेखि पुनः गिरावट देखिएको छ। जापानको निक्केई ३ प्रतिशत भन्दा बढीले घटेको छ भने दक्षिण कोरियाको वोन मुद्रा १६ वर्षयताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ।
अमेरिकी स्टक फ्युचर्स पनि वाल स्ट्रीटमा लगातार पाँचौं दिन घाटा देखाइरहेका छन्।
अन्य देशहरूसँग सम्भावित सम्झौताका खबरले मंगलबार शुरूमा बजारमा सुधार ल्याएको थियो तर, दिनको अन्त्यमा अमेरिकी शेयर बजारले घटेर बन्द भयो।
चीनले घोषणा गरेका प्रत्युत्तरात्मक शुल्कहरूको जवाफमा ट्रम्पले गत हप्ता ५४ प्रतिशत मा रहेको चिनियाँ वस्तुमा शुल्कलाई झन्डै दोब्बर गरी १०४ प्रतिशत पुर्याएका छन्। चीनले यस्ता कदमलाई धम्की भन्दै त्यसको विरोध गर्ने बताएको छ।
शीर्ष चिनियाँ ब्रोकरेजहरूले बजार स्थिर बनाउन सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्, किनभने शुल्कका कारण उत्पन्न अशान्तिले शेयर बजार प्रभावित बनाएको छ।
ट्रम्पले लगानीकर्ताहरूलाई शुल्क दीर्घकालीन हुने कि नहुने बारेमा मिश्रित संकेत दिएका छन् – कहिले "स्थायी" भनेका छन्, त कहिले यी शुल्कहरू वार्तामा बाध्य पार्ने उपाय भएको दाबी गरेका छन्।
"धेरैजसो देशहरू सम्झौता गर्न चाहन्छन्," उनले मंगलबार ह्वाइट हाउसको कार्यक्रममा भने। पछि उनले चीनले पनि सम्झौता गर्न चाहने अपेक्षा रहेको उल्लेख गरे।
जापान, दक्षिण कोरिया, भियतनाम व्यापार वार्ताको तयारीमा
ट्रम्प प्रशासनले नजिकका सहयोगी र प्रमुख व्यापार साझेदार दक्षिण कोरिया र जापानसँग वार्ता तय गरेको छ। साथै, इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनी आगामी हप्ता अमेरिका भ्रमणमा आउनेछिन्। सबैभन्दा बढी शुल्कले प्रभावित भएको भियतनामका उपप्रधानमन्त्री बुधबार ट्रम्पका कोष सचिव स्कट बेसन्टसँग वार्ता गर्ने तयारीमा छन्।
ट्रम्पले शुल्कहरूलाई अमेरिकी वस्तुहरूमा लगाइएका अवरोधको प्रतिक्रिया बताएका छन्। साथै उनले जापानलगायत देशहरूलाई मुद्रा अवमूल्यन गरी व्यापारिक फाइदा लिएको आरोप पनि लगाएका छन् । जुन टोकियोले अस्वीकार गरेको छ।
जापानका अर्थमन्त्रीले बुधबार भनेका छन्, 'वाशिंगटनसँगको व्यापार वार्तामा विदेशी विनिमय दर पनि समावेश हुन सक्छ।'
ट्रम्पले अझै थप शुल्क लगाउने संकेत दिएका छन्। मंगलबार साँझ रिपब्लिकन सांसदहरूलाई सम्बोधन गर्दै उनले औषधि आयातमा "ठूलो" शुल्क चाँडै घोषणा गर्ने बताएका छन्, जुन हालसम्म नयाँ करबाट जोगाइएका थोरै वस्तुहरूमध्ये एक हो।
अमेरिकीहरूको क्रयशक्ति खस्किँदै
व्यापार युद्धका कारण अमेरिकामा जुत्ता देखि वाइनसम्मका सबै वस्तु महँगा हुने अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् । बुधबार मध्यरातसम्म ढुवानीमा रहेका सामानहरू जुन मे २७ भित्र अमेरिकामा आइपुग्छन् तीनमा नयाँ शुल्क लाग्दैन जसको कारण प्रभाव तुरुन्तै महसुस नहुन सक्छ ।
रोयटर्स/इप्सोसको नयाँ सर्वेक्षण अनुसार करिब तीन चौथाई अमेरिकीहरू आगामी ६ महिनाभित्र दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धि हुने अपेक्षा गरिरहेका छन्।
कुन वस्तुको बजार भाउ कतिले बढ्न सक्छ ?
ट्रम्पले शनिबारदेखि लागू भएका १० प्रतिशत समानुपातिक शुल्कहरूपछि बुधबार बिहानबाट नयाँ शुल्कहरू शुरू गरेका छन्, जुन उनका अनुसार अमेरिका "लुटिँदै" आएको देशहरू विरुद्ध लक्षित छन्। यसमा युरोपेली संघ समेत परेको छ, जसमा २० प्रतिशत शुल्क लगाइएको छ।
समाचार संस्था रोयटर्सको सहयोगमा