काठमाडौं । एमएडब्ल्यू वृद्धिले अन्तरराष्ट्रिय स्तरको टुनल्याण्ड जी७ नेपाल ल्याउने तयारी गरेको छ । यो नेपाली बाटोमा सफलतापूर्वक सञ्चालन गर्न विशेष परीक्षण, अनुसन्धान र विकास गरिएको एक शक्तिशाली गाडी भएको कम्पनीको दाबी छ ।
उन्नत फिचरहरूसँगै टुनल्याण्ड जी७ बलियो मात्र नभई फराकिलो पनि रहेको बताइएको छ । यसमा १६० हर्सपावरको इन्जिन र ३९० एनएम टर्क छ, जसले हरेक किसिमका सडकमा आवश्यक पर्ने प्रदर्शन क्षमताहरू प्रदान गर्छ । २२५ मिमिको ग्राउन्ड क्लियरेन्स भएकोले यसलाई अप्ठ्यारो, उकालो–ओरालो तथा उबडखाबड सडकमा पनि सजिलै चलाउन सकिने बताइएको छ ।
यसमा भएको मोडर्न इन्जिन ‘पुस–स्टार्ट’ बटनले यसलाई नयाँ चालकलाई झनै सजिलो बनाउने कम्पनीको भनाइ छ । सुरक्षाका दृष्टिकोणले चालकहरूका लागि ‘हिल होल्ड कन्ट्रोल’ र ‘हिल डिसेन्ट कन्ट्रोल’ जस्ता सुविधाले सहुलियत प्रदान गर्ने बताइएको छ ।
सिटहरूमा ‘हिटेड’ र ‘भेन्टिलेटेड’ सिस्टम रहेको बताइएको छ । टुनल्याण्ड जी७ शक्ति, सुरक्षा र लक्जरीको प्याकेज भएको कम्पनीको भनाइ छ । यसले नेपालका पिकअप गाडीहरूको बजारमा नयाँ मापदण्ड कायम गर्नेमा कम्पनी विश्वस्त छ ।