चितवन । गौरवको आयोजना मानिएको भरतपुर सिटी हलको निर्माण हालसम्म सम्पन्न भएको छैन । २०७७ मंसिर १८ गते २७ महीनाभित्र निर्माण सम्पन्न गर्ने गरी इन्डो सगुन कम्पनीले सघन शहरी तथा भवन निर्माण कार्यालयसँग सम्झौता गरेको थियो । तर, कोभिड महामारी, निर्माण सामग्रीको अभाव र बजेटको अपुगजस्ता कारण देखाउँदै कम्पनीले पटक–पटक म्याद थप गर्दै आएको छ । यसपटक पनि उसले तेस्रोपटक म्याद थपको माग गरेको छ ।
सघन शहरी तथा भवन निर्माण कार्यालय, भरतपुरका प्रमुख झपड थापाका अनुसार हालसम्म ६० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । बाँकी काम सम्पन्न गर्न एक वर्ष म्याद थप्न तयारी भइरहेको उनले जानकारी दिए । थापाले भने, ‘निर्माण कम्पनीले पुनः एक वर्षको समय थप माग गरेको छ, थप्नुपर्ने अवस्था पनि देखिएको छ ।’
हाल सिटी हलमा ट्रस हाल्ने काम भइरहेको छ । निर्माण कम्पनीलाई काम तीव्र बनाउन दबाब दिइने कार्यालयले जनाएको छ । यसअघि म्याद २०८१ माघसम्म थपिएको थियो, जुन सकिएको तीन महीना भइसक्यो । भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा परेको सिटी हलको निर्माण अहिले पनि कछुवा गतिमा अघि बढिरहेको छ ।
८७ करोड ८८ लाख ८८ हजार ८८८ रुपैयाँमा २७ महीनाभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता भए पनि कामले अपेक्षित गति लिन सकेको छैन । भरतपुर–१० मा रहेको जिल्ला समन्वय समिति कार्यालयको पछाडिपट्टि चार बिघा चार कठ्ठा क्षेत्रफलमा सिटी हल निर्माण भइरहेको हो ।
सिटी हल निर्माण सम्पन्न भएपछि भरतपुरमा ठूला सभा, सम्मेलन तथा विविध कार्यक्रम आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ । भवनमा प्रशासनिक कक्ष, पुस्तकालय, सूचना प्रविधि कक्ष, अतिविशिष्ट कक्ष, फुडल्यान्ड, बगैंचा रहनेछन् । अडिटोरियम ब्लकमा दुई हजार जनाको बस्न मिल्ने क्षमता हुनेछ ।
यसैगरी तीन सय क्षमताको कन्फ्रेन्स हल, विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष, चारओटा भ¥याङ, आकर्षक स्टेज, रिहर्सल कक्ष रहनेछन् । साथै, २५० ओटा गाडी र ३०० भन्दा बढी मोटरसाइकल तथा साइकल अट्ने पार्किङ रहनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ माघ १७ गते सिटी हलको शिलान्यास गर्नुभएको थियो ।