काठमाडौं ।आर्थिक वर्ष २०७९/८० सम्ममा देशमा रहेको जम्मा विदेशी लगानीको एक तिहाइ कर नलाग्ने मुलुक तथा स्थान (ट्याक्स हेभन) बाट आउने गरेको राष्ट्र बैंकको एउटा प्रतिवेदनले उल्लेख गरेको छ ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन–२०७९/८०’ अनुसार ३० प्रतिशतभन्दा बढी लगानी यस्ता देशबाट आएको देखिन्छ ।
उक्त आर्थिक वर्ष (आव) सम्म देशमा उपलब्ध प्रत्यक्ष वैदेशिक लगानी २ खर्ब ९५ अर्ब ४९ करोड रुपैयाँ रहेकोमा ट्याक्स हेभन मानिने देश तथा स्थानबाट आएको ८९ अर्ब १७ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी देशमा विद्यमान छ, जुन जम्मा वैदेशिक लगानीको ३० दशमलव १७ प्रतिशत हुन्छ ।
आयरल्यान्ड, सिंगापुर, वेस्ट इन्डिज, युनाइडेड अरब इमिरेट्स, हङकङ, नेदरल्यान्ड्स, मौरिसस, बर्मुडा, ब्रिटिस भर्जिन आइल्यान्ड, स्वीट्जरल्यान्ड र केम्यान आइल्यान्डबाट उक्त विदेशी लगानी नेपालमा आएको हो । सामान्यतया थोरै वा कत्ति पनि कर नलिने देश तथा स्थानलाई ट्याक्स हेभन मानिन्छ । यी देशमा कि त कम करको दर हुन्छ कि कर नै लाग्दैन । तर, यी देशमा आपराधिक ढंगले कमाइएको पैसा लुकाइन्छ भन्ने होइन । आव २०७८/७९ मा यी देशबाट आएको विदेशी लगानीको अंश ३२ दशमलव ५१ प्रतिशत थियो भने त्यसको अघिल्लो आव ३१ दशमलव २७ प्रतिशत थियो ।
जानकारहरूका अनुसार नेपालबाटै ठूलो मात्रामा भ्रष्टाचार, ठगी वा अन्य आपराधिक क्रियाकलापबाट कमाएको पैसा विदेश लैजाने र त्यही पैसालाई कानूनी वैधानिकता दिन नेपालमै लगानीका रूपमा फर्काउने प्रवृत्ति रहेको पाइन्छ । पूर्वअर्थसचिव रामेश्वर खनालले राष्ट्र बैंकले नेपालबाटै लगेको पैसा फिर्ता ल्याएको हो कि भनेर हेर्ने गरे पनि हालको प्रणाली पर्याप्त नरहेको बताउँछन् ।
‘धूर्त मानिशहरूले विभिन्न देशमा त्यो पैसा लैजान्छन् र अन्त्यमा नेपालमा लगानीको नाममा ल्याउने गर्छन्,’ उनले भने ।उनका अनुसार कुन देशबाट उक्त पैसा आएको हो भन्ने भन्दा पनि उक्त पैसाको स्रोत के हो भनी हेर्नुपर्ने हुन्छ । ‘कम कर लाग्ने भएर पनि कुनै देश ट्याक्स हेभन मानिँदैन,’ उनले भने ।
स्रोत : नेपाल राष्ट्र बैंक