काठमाडौं । ७ बुँदे माग राखी आन्दोलनमा उत्रिएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आन्दोलन फिर्ता लिने भएको छ ।
सोमवार नेपाल आयल निगमसँग ४ बुँदे सहमति भएपछि ट्यांकर चालक संघले आन्दोलन फिर्ता लिने भएको हो । यससँगै आजैबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने सहमतिसमेत भएको छ ।
सहमतिअनुसार संघले उठाएका मागहरू सम्बोधन गर्न निगमका नायब कार्यकारी निर्देशक (बजार व्यवस्था)को संयोजकत्वमा एक उपसमिति गठन गर्ने सहमति भएको छ । उक्त उपसमितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यादेश दिइने भएको छ ।
आन्दोलनरत चालक, सहचालकले श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थापनलगायत ७ बुँदे माग राखेर आइतवारदेखि थानकोट डिपोबाट इन्धन उठाउन रोकेका थिए । इन्धन ढुवानी रोकिएपछि आइतवारबाटै निजी पेट्रोल पम्पले पनि पेट्रोलियम पदार्थ विक्री रोकेका थिए, जसका कारण नेपाली सेनाको पेट्रोल पम्पमा पेट्रोल भर्न आउने सवारीसाधनको ठूलो लस्कर देखिएको थियो ।