रौतहट। घरेलु तथा साना उद्योगमा लगानी गर्ने वातावरण नभएको भन्दै रौतहटमा नयाँ दर्ता गर्नेको संख्यामा कमी आएको छ । घरेलु तथा साना उद्योग दर्ता कम हुँदा राजस्व असुली समेत प्रभावित भएको छ । घरेलु तथा साना उद्योग कार्यालय गौरका अनुसार विगतका वर्षमा एक हजारभन्दा बढी नयाँ उद्योग दर्ता हुने गरेको थियो । तर गएको आर्थिक वर्षमा यहाँ ५ सय ८४ ओटामात्र नयाँ उद्योग दर्ता भएको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार उद्योग र वाणिज्यतर्फ फर्म दर्ता र नवीकरण गर्नेहरूको संख्या घटेपछि राजस्व पनि घटेको हो । उद्योगतर्फ ४३ लाख ५३ हजार ९ सय र वाणिज्यतर्फ ६७ लाख ७० हजार गरी १ करोड ११ लाख २३ हजार ९०० रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख रिंकीकुमारी जयसवालले जानकारी दिइन् ।
अघिल्लो आवमा २ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएकोमा गत आवमा अपेक्षाकृत नभएको उनले बताइन् । गत आव २०८०/८१ मा यहाँ उद्योगतर्फका १ सय २४ र वाणिज्यतर्फका २ सय ४१ फर्म बन्द भएका छन् । यस अवधिमा ८ सय ३० उद्योग नवीकरण, ४४ उद्योगको पूँजी वृद्धि, ६ उद्योगको ठाउँसारी, २० उद्योगको नामसारी र १२ उद्योगको नाम परिवर्तन भएको कार्यालयको तथ्यांक छ । यसैगरी वाणिज्यतर्फ १ हजार ३४६ फर्म नवीकरण, १०५ फर्मको पूँजीवृद्धि, १५ फर्मको नामसारी, २१ फर्मले ठाउँसारी र २४१ फर्मको लागत कट्टा भएको कार्यालयले जानकारी दिएको छ ।