विराटनगर। देशभरका जिल्ला/नगर उद्योग वाणिज्य संघमध्ये उद्योग संगठन मोरङ उत्कृष्ट भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८० को अवसरमा संगठनले सो सम्मान पाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तान्तरण गर्नुभएको उत्कृष्टताको प्रमाणपत्र तथा अवार्ड संगठनका अध्यक्ष राकेश सुराना र वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले ग्रहण गरेका छन् ।
संगठनलाई प्राप्त सम्मान पत्रमा उद्योग, व्यापार, व्यवसायको विकास तथा प्रवर्द्धनमा निर्वाह गरेको उत्कृष्ट भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको उल्लेख छ ।
जिल्ला/नगर उद्योग वाणिज्य संघले उद्योग व्यवसाय क्षेत्रको प्रवर्द्धनका लागि खेलेको भूमिका, सघ/प्रदेश र स्थानीय निकायसँगको साझेदारीमा भएका काम, वहस पैरवीबाट प्राप्त उपलब्धि, सामाजिक उत्तरदायित्वअन्तर्गत गरेका कार्यका साथै समग्र आर्थिक एवं औद्योगिक विकासमा पुर्याएको योगदानको आधारमा नेपाल उद्योग वाणिज्य महासंघले संगठनलाई उक्त सम्मान दिएको बताइएको छ ।