उद्योगीहरूले डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत प्रयोग गरेको बिजुलीको बक्यौता महशुल तिर्न नेपाल विद्युत् प्राधिकरणले तोकेको म्याद आज बिहीवार सकिँदै छ । म्याद सकिने दिनसम्म कुनै पनि उद्योगीले प्राधिकरणलाई बक्यौता रकम नबुझाएको प्राधिकरणले जनाएको छ । ४९ उद्योगले प्राधिकरणलाई जरीवानासहित करीब ८ अर्ब ४ करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी छ ।
प्राधिकरणले पटकपटक ताकेता गर्दा पनि उद्योगीले अटेरी गरेपछि बक्यौता भुक्तानी नगर्ने उद्योगीलाई दबाब दिन गत असार अन्तिममा प्राधिकरणले ६ उद्योगको विद्युत् आपूर्ति रोकिदिएको थियो ।
तर, प्रधानमन्त्री ओलीको ठाडो मौखिक निर्देशन र विद्युत् नियमन आयोगको लिखित निर्देशनका कारण प्राधिकरण सञ्चालक समिति बैठकले ‘तीन महीनाभित्र उद्योगीहरूले बक्यौता विद्युत् महशुल भुक्तानी नगरेमा पुन: बक्यौता असुलउपर गर्न कारबाही अगाडि बढाउने शर्तसहित गत साउन ९ मा उद्योगहरूमा पुन: लाइन जोडिएको थियो ।
उद्योगीले अन्तिम दिनसम्म पनि बक्यौता नबुझाए कानूनअनुसार अघि बढ्ने तयारीमा प्राधिकरण रहेको कार्यकारी निर्देशक घिसिङले बताए । सर्वसाधारण ग्राहकले महशुल नबुझाउँदा जे सजाय हुन्छ त्यो सजाय उद्योगीलाई पनि हुन्छ । लाइन काटनेदेखि कानूनले गर्न मिल्ने सबै खालका कारबाही हुन्छ । यद्यपि, यस विषयमा मन्त्रालय र विद्युत् विकास विभागले पनि छलफल गरिरहेको छ । लेखा समितिको निर्णय आउन पनि बाँकी छ,’ घिसिङले भने ।
उद्योगीहरूले भने प्राधिकरणले चित्त बुझ्दो बिल जारी गर्न नसकेको र टीओडी मीटरको तथ्यांक दिन नसकेकाले बक्यौता भुक्तानी नगरेको बताउँदै आएका छन् ।