काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले गत माघ ९ गते १ खर्ब ३५ अर्ब रुपैयाँ ऋण लिने भन्दै इच्छुक ऋणदातालाई प्रस्ताव पेश गर्न आह्वान गरेको थियो । तोकिएको अवधिमा कसैले पनि प्रस्ताव पेश नगरेपछि निगमले पुन: एक्सप्रेशन अफ इन्ट्रेस्ट (ईओआई) जारी गरेर प्रस्ताव आह्वान गरेको छ ।
तोकिएको अवधिमा कुनै पनि साझेदार, सरकार वा कम्पनीले ऋण दिने प्रस्ताव नहालेपछि निगमले बुधवार पुन: ईओआई जारी गरेको हो । निगमले अहिले आफूसँग भएका जहाज किन्दा लागेको ऋणको साँवाब्याज भुक्तानी गर्न, थप जहाज किन्न र ह्यांगर बनाउन ऋणदाता खोजेको छ । अहिलेसम्म कुनै ऋणदाता निगमले पाउन सकेको छैन । निगमले उक्त प्रयोजनका लागि गत माघकै प्रकृतिको ऋण विवरणसमेत सार्वजनिक गरेको छ ।
निगमले सार्वजनिक गरेको सूचनामा इच्छुक राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनी, सरकार र अन्य ऋणदातालाई निवेदन दिन आग्रह गरिएको छ । अहिले निगमको ऋण ४८ अर्ब रुपैयाँभन्दा बढी छ । सन् २०१५ मा चारओटा जहाज किन्न लिएको ऋण र त्यसको ब्याज गरी निगमको ऋण दायित्व झन्डै आधा खर्ब रुपैयाँ पुग्न लागेको हो । ऋण बढेकै अवस्थामा यति बेला उक्त ऋण तिर्न र नयाँ जहाज किन्न थप ऋणका लागि सम्बद्ध संस्थाहरूलाई निगमले आग्रह गरेको हो । निगमको ईओआईअनुसार सबैभन्दा धेरै ऋण जहाज खरीदमा प्रयोग हुनेछ । त्यस्तो ऋणबाट जहाज खरीदका लागि अनुमानित ७५ अर्ब, अहिले भएको ऋण चुक्ता गर्न ५५ अर्ब र ह्यांगर बनाउन ५ अर्ब रुपैयाँ खर्च हुनेछ । पूँजी अभाव, ऋणको भार र जहाज अभावको चर्काे दबाबमा रहेको निगमले सहुलियत ब्याजदरको ऋण लिएर खरीद कार्य अघि बढाउन खोजे पनि दाताले विश्वास नगरेको देखिएको छ ।
निगमको ऋणदातामा अहिले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष छन् । यी ऋणदातालाई नै निगमले वार्षिक अर्ब रुपैयाँभन्दा बढी ब्याजबापत तिर्नुपर्छ । यी निकायको महँगो ब्याज भएकाले उक्त ऋण तिर्न निगमले सहुलियत कर्जा खोजेको सम्बद्ध अधिकारीको भनाइ छ । नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिश समितिको प्रतिवेदन २०८० मा निगमको सञ्चित कुल ऋण ४८ अर्ब ३ करोड रुपैयाँ रहेको उल्लेख छ । निगमले कुल ऋणको करीब १० प्रतिशतभन्दा बढीको दरले ब्याज तिरिरहेको छ ।