काठमाडौं । मोदी ईनर्जी लिमिटेडले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयमा २९ लाख कित्ता साधारण शेयर विक्री खुला गरेको थियो । आयोजना प्रभािवत स्थानीयमा ८ लाख ४ हजार ३९० कित्ता शेयर बाँडफाँट गरिएको हो ।
स्थानीयमा वितरण हुन नसकेको २० लाख ९५ हजार ६१० कित्ता शेयरसमेत सर्वसाधारणमा थप गरी विक्री गर्न लागिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयमा समेत सर्वसाधारणमा २५ प्रतिशत शेयर विक्री गर्न अनुमति पाएको थियो ।
आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र सामूहिक लगानी कोष र कर्मचारीसमेत सर्वसाधारणमा १५ प्रतिशत शेयर विक्री गर्न कम्पनीले अनुमति पाएको हो । दोस्रो चरणमा विक्री गरिने १५ प्रतिशत अर्थात् ४३ लाख ५० हजार कित्ता शेयरमध्ये ४ लाख ३५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको छ ।
अब बाँकी शेयरमध्ये पनि ५ प्रतिशत अर्थात् २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ८७ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । सर्वसाधारणका लागि ५९ लाख ९५ हजार ४२० कित्ता शेयर सार्वजनिक निष्कासनमा आउन लागेको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
आईपीओ खरीदका लागि वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने आईपीओको विक्री अवधि जेठ २ गतेसम्म लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको आईपीओसमेत छिटो अवधिसम्म मात्र विक्रीमा रहने देखिन्छ ।
कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आईआरएन डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।
यो रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आईआरएन ट्रिपल ए इस्युअरदेखि आईआरएनडीसम्मको रेटिङ प्रदान गर्ने गर्दछ । आईआरएन ट्रिपल ए इन्स्युअर रेटिङले बलियो आधारको संकेत गर्दछ भने आईआरएन डी इस्युअर रेटिङले कमजोर आधारको संकेत गर्दछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै लगानीकर्ताले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले पर्वत जिल्लामा २० मेगावाट क्षमताको तल्लो मोदी खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले २०७८ असोज १४ गतेदेखि उक्त आयोजनाबाट व्यापारिक उत्पादन गरिरहेको हो । आयोजनको कुल लागत ६ अर्ब २० करोड रुपैयाँ रहेको छ भने आयोजनाको प्रतिमेगावाट लागत ३१ करोड ३ लाख रुपैयाँ रहेको छ ।