‘मेसी आफैमा अचम्मका खेलाडी हुन् । जब तपाईं उनको गोल गर्ने शैलीबारे सोच्नुहुन्छ, आफै अचम्ममा पर्नुहुन्छ,’ स्पेनिस क्लब बार्सिलोनाका लागि सर्वाधिक गोल गरेपछि मेसीका बारेमा म्यानेजर टिटो भिलानोभाले गरेको प्रशंसा हो यो । लियोनल आन्दे्रस मेसी जन्मले अर्जेण्टिनी हुन् र त्यहीँको राष्ट्रिय टोलीका उत्कृष्ट स्ट्राइकर पनि । यसैले उनी अघोषित रूपमा स्पेनी नागरिक बनिसकेका छन् । मेसीको यो सफलताले विदेशी खेलाडीको लीगमा कति उचाइ र सम्मान हुन्छ भनेर अनुमान गर्न सकिन्छ । विदेशी खेलाडी अनुबन्ध गर्ने यो प्रचलन बार्सिलोनामा मात्रै छैन, विश्वभरका उत्कृष्ट लीगहरूमा विदेशी खेलाडी ल्याउने परम्परा छ । नेपाल पनि यस परम्पराबाट पृथक् छैन । त्यसैले होला पछिल्लो समय नेपालका ‘ए’ श्रेणीका क्लबहरू लीगमा विदेशी खेलाडी अनुबन्ध गर्न हौसिएका छन् । अझ, अखिल नेपाल फूटबल सङ्घ (एन्फा)ले विदेशी खेलाडी अनुबन्ध गर्ने वातावरण बनाइदिएपछि लीगमा विदेशी खेलाडी खेलाउनुलाई क्लबहरू अनिवार्य ठान्न थालेका छन् । अहिले त विदेशी खेलाडी राख्नुपर्ने नेपाली लीगको अघोषित मान्यता बन्न थालेको छ ।
विदेशी खेलाडी नेपाली क्लबमा अनुबन्ध गर्नेसम्बन्धी एन्फाको एउटा नियम छ । सो नियमअनुसार नेपाली क्लबले पाँच जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न सक्छन् । र, बढीमा चार जनालाई एउटै खेलमा खेलाउन सक्छन् । यसले नेपाली क्लबमा विदेशी खेलाडी खेल्ने वातावरण अझै फराकिलो बनाइदिएको छ । राजधानीमा जारी शहीद स्मारक रेडबुल ए डिभिजन लीगमा प्रमुख आकर्षण नै विदेशी खेलाडी बन्न पुगेका छन् । तिनका सामु कतिपय राष्ट्रिय खेलाडीको खेलसमेत फिक्का हुन पुगेको मूल्याङ्कन दर्शकले गर्न थालेका छन् ।
राष्ट्रिय लीगमा प्रतिस्पर्धा गर्दै आएका १० ओटा क्लबको सङ्ख्या बढेर जारी लीगमा १६ पुगेको छ । लीगमा जति क्लब बढ्दै जान्छन्, त्यति नै विदेशी खेलाडीको सङ्ख्या बढ्ने देखिन्छ । परिणामतः शहीद स्मारक लीगको ४०औं संस्करणसम्म आइपुग्दा सबैभन्दा बढी विदेशी खेलाडी अनुबन्ध यसैपटक हुन पुगेका छन् । एन्फाले गत नोभेम्बर २८ सम्म खुला गरेको प्लेयर ट्रान्सफर विण्डो (खेलाडी सरूवा) अनुसार विभिन्न क्लबले ५१ जना विदेशी खेलाडी अनुबन्ध गरे । जारी लीगमा तीनओटा विभागीय टीमबाहेक अन्य सबै व्यावसायिक क्लबले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । लीगमा विदेशी खेलाडीको आगमनले नेपाली फूटबललाई व्यावसायिक त बनाएको छ नै, स्वदेशी खेलाडीले सिक्ने मौकासमेत पाएका छन् । अहिले प्रायः राष्ट्रिय टोलीले प्रायोजक पाइसकेका छन् । उत्कृष्ट प्रदर्शन गरिरहेको मच्छिन्द्रले जारी लीगकै क्रममा एनएमबी बैङ्कको साथ पायो ।
सङ्ख्यासँगै बढ्यो लगानी
जारी लीगमा सहभागी १३ ओटा व्यावसायिक क्लबको तथ्याङ्कलाई आधार मान्ने हो भने अहिले ५१ जना विदेशी खेलाडी अनुबन्धित भएका छन् । राष्ट्रियस्तरको लीगलाई प्राथमिकतामा राखेर क्लबहरूले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रचलन छ । ‘कुनै एउटा सिजनलाई ध्यानमा राखेर विदेशी खेलाडी अनुबन्ध गर्ने परिपाटी छ,’ एन्फाका प्रवक्ता तथा थ्रीस्टार क्लबका अध्यक्ष ललितकृष्ण श्रेष्ठले भने । खेलाडीसँगको रकम सम्झौता पनि क्लबले निश्चित सिजनलाई आधार मानेर गरेको पाइन्छ । जारी लीगमा मासिक २ सय ५० देखि १ हजार ५ सय डलर खर्च गरेर ती खेलाडीको अनुबन्ध गरिएको छ । तर, विदेशी खेलाडीमा गरिएको लगानीबारे यथार्थ जानकारी दिन क्लबहरू तयार देखिँदैनन् । क्लबहरूको तथ्याङ्कअनुसार विदेशी खेलाडीलाई दिने रकम मासिक औसत ६ सय अमेरिकी डलर रहेको छ । यसअनुसार जारी लीगमा मात्रै क्लबहरूले मासिक करीब २६ लाख रुपैयाँ ती खेलाडीको तलबमा खर्च गरेको देखिन्छ । यस हिसाबले करीब ३ महीनासम्म सञ्चालन हुने लीगमा ७८ लाख रुपैयाँभन्दा बढी रकम विदेशी खेलाडीको तलबमा खर्च हुन्छ । तिनको आवास, यातायात, खाना खर्च क्लबहरूले बेहोर्ने गरी अनुबन्ध सम्झौता गरेका हुन्छन् । जारी लीगमा विदेशी खेलाडीमा रू. १ करोडभन्दा बढी रकम खर्च हुने देखिन्छ । यसबाहेक क्लबहरूले विदेशी खेलाडी अनुबन्ध गर्दा ‘भिसा फी’बापत प्रतिदिन १ डलरभन्दा बढी रकम अध्यागमन विभागलाई बुझाउनुपर्छ । त्यस्तै ती खेलाडीको श्रम सम्झौता गर्दा प्रतिखेलाडी १० हजार रुपैयाँ क्लबहरूले नै तिर्नुपर्ने हुन्छ ।
अफ्रिकनको वर्चस्व
अफ्रिकन खेलाडी अहिले नेपाली लीगको मुख्य आकर्षण बन्न थालेका छन् । ‘फिजिकल टफनेस’ तथा तुलनात्मक रूपमा अन्य मुलुकको भन्दा कम लगानीमा अनुबन्ध
गर्न सकिने भएकाले पनि अफ्रिकन खेलाडी नेपाली क्लबहरूको रोजाइमा पर्न थालेका हुन् । ‘नेपाली खेलाडीलाई लामो समय अनुबन्ध गर्नुपर्ने र खर्च पनि बढी हुने भएकाले अफ्रिकन खेलाडी रोजाइमा पर्न थालेका हुन्,’ एनएमबी मच्छिन्द्र क्लबका अध्यक्ष जीवेन्द्र कर्माचार्यले भने । उनका अनुसार लीगका लागि पर्याप्त नेपाली खेलाडी उपलब्ध नभएकाले पनि विदेशी खेलाडी ल्याउन क्लबहरू बाध्य भएका हुन् । जारी लीगमा अनुबन्धित ५१ जना विदेशी खेलाडीमध्ये ५० जना अफ्रिकी मूलका छन् । यसले पनि नेपाली लीगमा अफ्रिकी खेलाडी हाबी हुन थालेको देखाउँछ । लीगमा क्यामरुन, नाइजेरिया, आइभोरिकोष्ट, केन्या र ताञ्जानियाका खेलाडी बढी छन् । थ्रीस्टारले भने एकजना अमेरिकी खेलाडी अनुबन्धित गरेको छ ।
खेलाडी छनोट र गुणस्तरको प्रश्न
कुनैपनि देशको फूटबलको स्तर मापन गर्न त्यहाँको राष्ट्रिय लीगलाई मुख्य आधार मान्ने गरिन्छ । नेपाल पनि यसबाट फरक हुन सक्दैन । लीगलाई प्रतिस्पर्धात्मक बनाउन खेलाडीको स्तरले ठूलो भूमिका खेल्छ । त्यसैले पनि विश्वका उत्कृष्ट क्लबहरू खेलाडी छनोटमा निकै ध्यान दिने गर्छन् । इङ्गलिश प्रिमियर लीग, स्पेनिस ला–लिगा, इटालियन सिरी–एजस्ता प्रसिद्ध लीगमा विदेशी खेलाडी व्यवस्थापनमा धेरै रकम खर्च गरिएको हुन्छ । तर, नेपालमा भने अवस्था ठीक उल्टो देखिन्छ । नेपालमा विदेशी खेलाडी अनुबन्ध त गरिन्छ, तर निकै कम खर्चमा । नेपाली खेलाडीभन्दा विदेशबाट ल्याउने खेलाडी सस्तो पर्ने हुँदा क्लबहरू यो काममा बढी उत्साहित देखिन्छन् । विदेशी खेलाडी अनुबन्ध गर्ने काम नेपालमा अहिले ‘फेशन’जस्तै बनेको छ । अनुबन्धको यो प्रक्रियाले गुणस्तरीय खेलाडी छनोट हुनेमा भने शङ्का नै छ । अझ क्लबहरूले खेलाडी अनुबन्ध गर्ने प्रक्रिया त अवैज्ञानिक र हास्यास्पद छ । युट्युब, इण्टरनेट, मध्यस्थकर्ता तथा साथीको माध्यमबाट विदेशी खेलाडी ल्याउने गरेको क्लब सञ्चालकहरूको भनाइ छ । सस्तोको चाहनाले खेलाडीको सही परीक्षण नै नगरी खेलाउने प्रवृत्ति बढ्न जाँदा नेपाली लीगको स्तरमा प्रश्नचि≈न लागेको छ । यद्यपि यस पटक लीगमा खेलिरहेका केही विदेशी खेलाडीको प्रदर्शन भने तारिफयोग्य नै छ ।
अनुबन्धको इतिहास
नेपाली लीगमा विदेशी खेलाडीको अनुबन्धले चर्चा पाउन थालेको गएको दशकदेखि मात्र हो । यद्यपि नेपाली राष्ट्रिय लीगमा विदेशी खेलाडीको आगमन भने करीब ४ दशकअघि नै शुरू भइसकेको थियो । तत्कालीन ब्वाइज युनियन क्लबले २०३० सालमा भारतीय खेलाडी श्याम थापालाई अनुबन्ध गरेसँगै यसको इतिहास शुरू हुन्छ । ब्वाइज युनियनको यो कदम अन्य क्लबका लागि मार्गदर्शक बन्न पुग्यो । ४० को दशकमा एनआरटीले यूरोपेली मूलका केही खेलाडीलाई लीगमा उतारेर युनियनको कदमलाई निरन्तरता दियो । यसपछि लीगमा विदेशी खेलाडीको आगमन ह्वात्तै बढ्न थाल्यो । २०५४ मा थ्रीस्टार, २०५७ मा युनाइटेड क्लब र २०६० मा तत्कालीन काठमाडौं क्लबले विदेशी खेलाडीलाई अनुबन्ध गरे । लीगमा विदेशी खेलाडीको प्रदर्शनले अन्य क्लबलाई पनि आकर्षण गर्न थाल्यो । त्यसपछि क्लब सञ्चालकहरू सस्तोमा विदेशी खेलाडी भित्र्याउने अभ्यासमा जुट्न थाले । ०६१/६२ सालको शहीद स्मारक लीगसम्म आइपुग्दा विदेशी खेलाडी लीगको प्राथमिकतामै पर्न थाले । त्यतिबेला पनि लीग खेल्ने विदेशी खेलाडीमा अफ्रिकीको सङ्ख्या बढी थियो । कतिसम्म भने अफ्रिकी खेलाडी स्वयम्ले नै अफ्रिकन युनाइटेड क्लबको नामबाट नेपाली राष्ट्रिय लीगमा प्रतिस्पर्धा गरेका थिए । त्यसबेला उक्त क्लबले पोखरा तथा धरानको नकआउट उपाधिसमेत हात पारेको थियो ।
जारी लीगमा ४ विदेशी खेलाडी मैदानमा उतारेको मच्छिन्द्रले ०६१÷६२ को लीगमा एक जना प्रशिक्षकसहित ४ विदेशी खेलाडीको भित्र्याएको थियो । २०६२ सालको लीगमा पनि मनाङले विदेशी खेलाडी उतारेको थियो । विदेशी खेलाडीसहितको टोलीले नै मनाङलाई पाँचौपटक लीग उपाधि दिलायो । पछिल्लो समय फूटबल खेल्नकै लागि भनेर आउने अफ्रिकीहरू त्यसबेला विभिन्न बहानामा नेपाल छिर्ने प्रचलन थियो । केही वर्षअघि मात्र अफ्रिकीहरू लागू औषधसहित त्रिभुवन विमानस्थलमा पक्राउ परेको घटनाले नेपाली फूटबलमा तनाव उत्पन्न गराएको थियो । त्यसैले पनि एन्फाले २०६३ सालदेखि विदेशी खेलाडीको श्रम स्वीकृति अनिवार्य बनायो । जारी लीगमा विदेशी खेलाडीको चुलिँदो आकर्षणका कारण आगामी दिनमा व्यावसायिक क्लबहरूबीच तिनलाई भित्र्याउने होड अझ बढ्ने अनुमान गर्न सकिन्छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.