नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त अध्यक्ष, नेपाल सरकारका मुख्यसचिव लीलामणि पौड्यालले प्राधिकरणलाई हात्तीपाइले रोगी भएको बताएका छन् । वास्तवमा अधिकांश सरकारी संस्थान हात्तीपाइलेका रोगी नै हुन् । नेपाल सरकारका मुख्यसचिवलाई सार्वजनिक संस्थानहरू हात्तीपाइलेका रोगी भएको महसूस हुनु भनेको निकै सकारात्मक कुरा हो । भाषणमा चाहिँ हात्तीपाइलेका रोगी भन्ने तर त्यसको उपचार गर्नेभन्दा पनि रोग बढाउँदै लैजाने परम्परा सरकारी निकायहरूमा हुन्छ ।
कार्यक्षमतामा कुशल मानिएका मुख्यसचिव पौड्यालले व्यवहारमै प्राधिकरण र अन्य रोगी संस्थानहरूको उपचार गर्नेतर्फ कदम चाले भने उनको भनाइ सार्थक हुने थियो । त्यो भनेको प्राधिकरणको विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने तीनओटा दायित्वलाई खण्डित गर्ने र यसलाई निजीकरण गर्ने हो । प्राधिकरणको विघटन हुन सक्यो भने मात्रै उसलाई लागेको हात्तीपाइले रोग निवारण हुन सक्छ ।
हाल नेपाल विद्युत् प्राधिकरणले विद्युत्सम्बन्धी तीनओटा फरकफरक काम गरिरहेको छ– उत्पादन, प्रसारण र वितरण । पञ्चायतकालसम्म यी तीनओटै काममा प्राधिकरणको एकाधिकार थियो । तर, २०४९ सालमा नयाँ विद्युत् ऐन आएपछि विद्युत् उत्पादनमा निजीक्षेत्रको पनि प्रवेश भयो र अहिले प्राधिकरण र निजीक्षेत्र दुवैले उत्पादनको काम गरिरहेका छन् । अन्य दुई काममा अहिले पनि प्राधिकरणको एकाधिकार कायम छ ।
(सम्पादकीयबाट) वर्ष ८, अंक ८२, सोमवार २५ मङ्सिर, २०६९