काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।
सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जानकारी दिए ।
उनले भने, ‘आजकै मितिबाट लागू हुनेगरी पदबाट हटाइएको हो । पटकपटक स्पष्टीकरण सोध्दा पनि उनले चित्तबुझ्दो जवाफ दिन सक्नुभएन ।’
घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै सरकारले पाँच पटक उनलाई स्पष्टीकरण सोधेको थियो । उनले केही दिनअघि मात्रै पाँचौं पटक स्पष्टीकरण दिएका थिए ।
उनको दोस्रो कार्यकाल सकिन चार महीनाभन्दा बढी समय मात्रै बाँकी थियो । सरकारले उनलाई २०७८ साउन २५ गते विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । यसआधारमा उनको कार्यकाल आगामी साउन २४ गतेसम्म बाँकी थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङबीच पछिल्लो समय टकराव देखिएको थियो । यही टकरावका कारण मन्त्री खड्काले उनलाई पटकपटक स्पष्टीकरण सोधेका थिए ।