काठमाडौं । एनएमबि बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक र डायनामिक हाइड्रो इनर्जी प्रालिबीच ४२ मेगावाट क्षमताको दोलखाको विगुस्थित लाप्चे तामाकोशी जलविद्युत् आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।
यस आयोजनामा एनएमबि बैंकको अगुवाइ रहने बताइएको छ । आयोजनाको लागत करीब रू. ७ अर्ब रहने छ, जसमा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रू. ५ अर्ब २५ करोड रहनेछ ।
साथै एनएमबि बैंकले एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत् आयोजना (२ मेगावाट)को पनि वित्तीय व्यवस्थापन समापन गरेको छ ।
२ मेगावाट क्षमता रहेको चेपे खोला क्यास्केड जलविद्युत् आयोजनाको अनुमानित लागत रू. ४३ करोड ४० लाख रहेको छ, जसमा एनएमबि बैंकले रू. ३४ करोड ऋण लगानी गर्ने बताइएको छ । ऋणसम्बन्धी सम्झौतामा एनएमबि बैंकका सस्टेनेबल इनर्जी बैंकिङ चिफ दिनेश दुलाल र डायनामिक हाइड्रो इनर्जीका अध्यक्ष मोहनविक्रम कार्कीले हस्ताक्षर गरेका थिए ।
सोही कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष तथा अन्य जोखिमको सूक्ष्म रूपमा अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने जानकारी गराए । एनएमबि बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत् आयोजनामा लगानी गरिसकेको बताइएको छ ।