काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण बल्ल सर्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३०६ प्रतिशत वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा रू.७ करोड ४८ लाख नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिमा रू. ३० करोड ४२ लाख कमाएको हो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानी बढेको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको विद्युत् विक्री आम्दानी २१६ प्रतिशत वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीले विद्युत् विक्रीबापत रू. २९ करोड २६ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा रू. ९२ करोड ६९ लाख पुगेको छ ।
नाफामा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी २ रूपैयाँ ९९ पैसा रहेकोमा चालू आवको सोही अवधिमा बढेर ९ रूपैयाँ ७४ पैसा पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब १२ करोड रहेको छ ।
त्यस्तै कम्पनीले जगेडामा रू. २१ करोड सञ्चित गरेको छ । प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ७४ रहेको कम्पनीको मूल्य आम्दानी अनुपात २ दशमलव ४६ गुणा रहेको छ ।