साउन १९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तत्कालिन उप–कुलपति प्रा डा राजकुमार रौनियार सहित दुई जना विरुद्ध आइतवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले उनी विरुद्द रू. १ करोड २८ लाखको विगो मागदावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो । यसैगरी अख्तियारले डा रामहरी रौनियार विरुद्ध पनि निजले घूस लिनेखाने कार्यमा मतियार भई कार्य गरेको भन्दै रू.८ लाख विगो मागदावी गर्दै मुद्दा दायर गरेको छ ।
प्रतिष्ठानको होष्टेल तथा फार्मेसी भवन निर्माणमा संलग्न गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशिल कुमार झासँग भवन निर्माणको भूक्तानी दिने क्रममा प्रतिष्ठानका तत्कालिन उप–कुलपति रौनियारले पटक –पटक घूस माग गरेको अडियो- भिडियो तथा थप अनुसन्धानको क्रममा समेत घूस माग गरेको पुष्टि हुन आएको भन्दै अख्तियारले रौनियार विरुद्ध मुद्दा दायर गरेको हो ।
यसैगरी अख्तियारले मतियार भई घूस लिनेखाने कार्यमा मतियार भएको भन्दै विगो माग दावी सहित प्रतिष्ठानमा हाउस अफिसरमा कार्यरत डा रामहरी रौनियार विरुद्ध पनि आइतवार नै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।