वीरगञ्ज । वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महीनामा रु २९ अर्ब २७ करोड ८२ लाख चार हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । आव २०८०र८१ को छ महीनाको तुलनामा चालु आवको सोही अवधिमा निर्यात शतप्रतिशत अर्थात् रु १४ अर्ब ७१ करोड रकमले निर्यात वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको छ महीनाको अवधिमा प्रशोधित भटमास र सूर्यमुखी तेल छिमेकीमुलुक भारत बढेकाले समग्रमा निर्यात बढेको बताए ।‘‘गत आवको तुलनामा चालु आर्थिक वर्षमा समग्रमा प्रशोधित भटमास र सूर्यमुखीको तेल निर्यात बढेको छ,’’ उनले भने,‘‘अन्य कपडाजन्य सामग्री पनि बढेकाले निर्यात झण्डै दोब्बर भएको हो ।’’
गत आवको छ महीनामा यो नाका हुँदै रु १४ अर्ब ५६ करोड ७१ लख ८५ हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशमा निर्यात भएको थियो । कार्यालयले चालु आवको छ महीनामा वस्तु तथा सामान निर्यात गरेवापत रु १७ करोड ६६ लाख ६३ हजार राजस्व सङ्कलन गरेको थियो । गत आवको सोही अवधिमा निर्यात गरेवापत भने रु १० करोड तीन लाख ८१ हजार राजस्व सङ्कलन गरेको थियो ।
वीरगञ्ज नाका हुँदै विशेषगरी भटमासको तेल प्रशोधित, सूर्यमुखीको प्रशोधित तेल, सेन्थेटिक यार्न, पशु आहाराको कच्चा पदार्थ, विभिन्न किसिमका कपडा, सिन्थेटिक कपडालगायत छन् । वीरगञ्ज नाका हुँदै चालु आवको छ महीनामा रु दुई खर्ब ७७ अर्ब १५ करोड ५७ लाख १६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । त्यसैगरी, गत आवको छ महीनाकै अवधिमा भने रु दुई खर्ब ६० अर्ब ३६ करोड ६१ लख ६६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा आयात पनि छ दशमलव ४५ प्रतिशतले बढेको छ ।
गौर भन्सारबाट १४ करोड राजस्व सङ्कलन
गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महीनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले साउनदेखि पुससम्म रु १४ करोड ६७ लाख ५५ हजार राजस्व सङ्कलन गर्न सफल भएको गौर भन्सार कार्यालयका निमित्त प्रमुख अमेन्द्र सिंहले जानकारी दिए ।
भन्सार विभागले आव २०८१/८२ का लागि रु ३५ करोड ४३ लाख ७८ हजार राजस्व सङ्कलनको लक्ष्य दिएकामा पुस मसान्तसम्ममा रु १४ करोड ६७ लाख ५५ हजार सङ्कलन गरेको उनले बताए । यो साउनदेखि पुससम्मको लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख सिंहले जानकारी दिए ।
भन्सार प्रमुख सिंहका अनुसार, यो छ महीनामा सबैभन्दा बढी पुसमा रु तीन करोड ४७ लाख १४ हजार सङ्कलन भएको छ । यो महीना लक्ष्य भन्दा १७ प्रतिशत बढी रकम राजस्व सङ्कलन भयो । यस वर्ष गौर भन्सार कार्यालयले विभागले दिएको लक्ष्य भेट्टाउने किसिमले काम गरिरहेको छ ।
यसैबीच रौतहट प्रहरीले गत साउनयता रु दुई करोड ४२ लाख ७७ हजार चार सय ४३ बराबरको सीमा क्षेत्रबाट चोरी निकासीका सामान बरामद गरी गौर भन्सारमा बुझाएको रौतहट प्रहरी प्रमुख दिलीप घिमिरेले जानकारी दिए ।
सो अवधिमा अवैध सामान ओसारपसार गर्ने ६६ जना, एक सय आठओटा मोटरसाइकल, दुई थान पिकअप भ्यान, दुई थान स्कारपियो गाडी, १४ ओटा साइकल र चारओटा सिटीरिक्सा बरामद गरी भन्सार कार्यालयलाई बुझाएको उनले जानकारी दिए । सोही अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु ६८ लाख २४ हजार पाँच सय राजस्व सङ्कलन गरेको उपरीक्षक घिमिरेले जानकारी दिए ।
कोइलाबास नाकामा चहलपहल घटेसँगै राजस्व पनि घट्यो
कैलालीको कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को छ महीनामा रु ७१ लाख मात्र राजस्व सङ्कलन गरेको छ । नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्व पनि कम उठेको कार्यालयले जनाएको छ । "भारत प्रवेश गर्दा कडाइ गरेका कारण यहाँबाट आवतजावत गर्नेको सङ्ख्या घट्दै गएको छ”, कार्यालयका निमित्त प्रमुख वसन्त रजौरेले भने । यो बाटो भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता, लाइसेन्सजस्ता सक्कली कागजपत्र भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको गुनासो रहेको छ ।
गतसाउनमा १२ लाख राजस्व उठाउने लक्ष्य कार्यालयले लिएको थियो । यसमा रु नौ लाख राजस्व उठेको थियो । यो लक्ष्यको ७६ प्रतिशत हो । लक्ष्यभन्दा रु दुई लाख ७६ हजार कम राजस्व सङ्कलन भएको छ । भदौमा रु १३ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यसमा रु छ लाख राजस्व सङ्कलन भएको छ । लक्ष्यभन्दा रु सात लाख कम राजस्व सङ्कलन भएको छ ।
असोजमा रु १३ लाख २६ हजार सङ्कलन गर्ने लक्ष्य लिएकामा रु सात लाख सङ्कलन भएको छ । यो लक्ष्यभन्दा रु छ लाख कम हो । कात्तिकमा १२ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु नौ लाख सङ्कलन भएको छ । यो ७०.९० प्रतिशत हो । तर पनि लक्ष्यभन्दा रु तीन लाख कम राजस्व सङ्कलन भएको छ । मङ्सिरमा रु १३ लाख ६८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु नौ लाख सङ्कलन भएको छ । यो ६५.१४ प्रतिशत हो । लक्ष्यभन्दा रु चार लाख ७६ कम राजस्व सङ्कलन भएको छ ।
पुसमा रु १३ लाखको लक्ष्य लिएकामा रु ३० लाख सङ्कलन गरिएको छ । यो लक्ष्यको दुई सय २९ दशमलव ९२ प्रतिशत बढी हो । लक्ष्यभन्दा रु १७ लाख बढी राजस्व सङ्कलन भएको निमित प्रमुख रजौरे बताउँछन् । भन्सार कार्यालयले चालु आवमा रु एक करोड ६५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको निमित प्रमुख रजौरेले बताए । कोइलाबास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी हो ।
भारतीय सवारीसाधनबाट उठाउने राजस्व नै प्रमुख स्रोतका रूपमा लिइएको उनले बताए । भारतबाट नेपाल आउने गाडीलाई दैनिक रु छ सय र मोटरसाइकलबाट प्रतिदिन रु दुई सय लिने गरेको उनले बताए । भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनबाट र केही खाद्यान्नलगायत अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ । भारतबाट कोइलबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायत ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व सङ्कलन हुने गरेको कार्यालयले जनाएको छ । रासस