वीरगञ्ज । मुख्य नाका वीरगञ्जमा चालू आर्थिक वर्ष (आव)२०८०/८१ को ११ महीनामा साढे ५ खर्ब रुपैयाँभन्दा बढीको मालसामान आयात हुँदा निर्यात २९ अर्ब रुपैयाँमा खुम्चिएको छ ।
वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि गत जेठ मसान्तसम्ममा ५ खर्ब ५२ अर्ब ९५ करोड रुपैयाँ बराबरको आयात भएको छ । त्यही अवधिमा निर्यात भने २९ अर्ब १६ करोड रुपैयाँ बराबर छ ।
गत आव २०७९/८० को समीक्षा अवधिको तुलनामा यो वर्ष कुल वैदेशिक व्यापारमा कमी आएको छ । कुल आयात–निर्यात कारोबार १४ दशमलव २७ प्रतिशतले खुम्चिएर ५ खर्ब ८२ अर्ब रुपैयाँमा सीमित भएको भन्सारको तथ्यांक छ ।
अघिल्लो वर्ष सोही अवधिमा ६ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापारको आँकडा भन्सारले प्रकाशित गरेको छ । तथ्यांकअनुसार आयात र निर्यात घटेको छ । आयात र निर्यात कारोबार क्रमशः १४ दशमलव १५ र १६ दशमलव ५५ प्रतिशतले खस्किएको भन्सारले जनाएको छ ।
घट्यो राजस्व
वैदेशिक व्यापार खुम्चिएपछि भन्सारले उठाउने राजस्वमा पनि कमी आएको छ । अघिल्लो आवको समीक्षा अवधिको तुलनामा चालू आवको ११ महीनामा भन्सारले १ अर्ब रुपैयाँ कम राजस्व उठाएको छ ।
वीरगञ्ज भन्सारले गत आवको ११ महीनामा १ खर्ब ४२ अर्ब ३० करोड रुपैयाँ उठाएकोमा चालू आवमा यो रकम १ खर्ब ४१ अर्ब ८९ करोड रुपैयाँमा झरेको छ । यो आँकडा भन्सारलाई तोकिएको राजस्व लक्ष्यको ६३ दशमलव १७ प्रतिशत हो ।