काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको ६ महीनासम्म ७ करोड ४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष सो अवधिसम्म कम्पनीले करिब ६२ प्रतिशत बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज वापत्को रकम फिर्ता भएकाले खुद नाफा बढ्न सहयोग मिलेको हो ।
गत वर्ष यस अवधिसम्म इम्पेरमेन्ट चार्ज वापत् ३ करोड ८० लाख रुपैयाँभन्दा बढी छुट्याएको कम्पनीले यस वर्ष उक्त शिर्षकमा १ करोड १९ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता पाएको छ । जसका कारण कम्पनीको सञ्चालन नाफा गत वर्ष ६ करोड ५० लाख रुपैयाँभन्दा बढी रहेकोमा यस वर्ष १० करोड ५६ लाख रुपैयाँभन्दा बढी भएको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीको वितरण योग्य नाफा भने ३२ लाख ७४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । यस अवधिसम्म १ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ९ अर्ब ४० करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ७ दशमलव ९० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ८ दशमलव ३५ प्रतिशत कायम भएको हो । वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ ९१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ६४ पैसा रहेको छ ।