काठमाडौं । काठमाडौं उपत्यकाको मध्यभागमा रहेको टुडिखेल कुनै बेला एशियाकै सबैभन्दा ठूलो परेड मैदान मानिन्थ्यो । लाखौं मानिस अट्न सक्ने टुँडिखेलमा ठूला ठूला सैन्य कवाज तथा सरकारी समारोह आयोजना गरिन्थ्यो । तर, अहिले विकासका नाममा गरिएका विभिन्न खाले भौतिक संरचना निर्माणसँगै यसको क्षेत्रफल आधाभन्दा बढी खुम्चिएको छ ।
नेपाली सेना र सरकारले नै विभिन्न भौतिक संरचना ठड्याउन थालेपछि टुँडिखेलको अस्तित्व संकटमा परेको हो । हालै मात्र नेपाली सेनाले आर्र्मी अफिसर्स क्बल अगाडिको भागमा अग्ला भवन लगायत भौतिक संरचना बनाएको छ । यस्तै पुरानो बसपार्कमा काठमाडौं भ्यू–टावर बनाउन लागेपछि महानगरपालिकाले खुलामञ्चमा सारेको बसपार्क पनि तत्कालै हट्ने अवस्था छैन, जसले गर्दा टुँडिखेलको आकार झनै सानो भएको छ । शहरमा जनघनत्व बढेसँगै खुला स्थानको खोजी भइरहँदा नगरको बीचमा रहेको एउटै मात्र खुला ठाउँ नासिएको छ । यसबाट आम सर्वसाधारण चिन्तित बनेका छन् । सरकारी निकायबीच समन्वय नहुँदा ऐतिहासिक महŒवको टुँडिखेल संरक्षण गर्न सकिएको छैन ।
पहिलेको टुँडिखेल अन्तर्गत पर्ने खुलामञ्चको लम्बाइ अहिले २ सय ५ मिटर र चौडाइ १ सय ५५ मिटर रहेको काठमाडौं महानगरपालिकाको तथ्यांकमा उल्लेख छ । यस अनुसार खुलामञ्चको कुल क्षेत्रफल ५८ रोपनी हुन आउँछ । यस्तै सैनिक मञ्चतर्फ ३ सय मिटर लम्बाइ र २ स ५० मिटर चौडाइ छ । यसको कुल क्षेत्रफल भने २ सय ४० रोपनी छ । विगतमा टुँडिखेलको आकार अहिलेको भन्दा धेरै फराकिलो भएको बताउँछन् संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः । ग्वंगःका अनुसार पहिले त्रिपुरेश्वरको दशरथ रंगशालादेखि जमल र रानीपोखरीसम्मको क्षेत्रलाई टुँडिखेल भन्ने गरिन्थ्यो । अहिले त्रिपुरेश्वर दशरथ रंगशाला पछाडि आर्मी अफिसर्स क्लब छ भने उत्तरतिर रहेको रत्नपार्क र खुलामञ्च पनि टुँडिखेलबाट अलग्गिएको छ । गणतन्त्र प्राप्तिपछि टुँडिखेलको अस्तित्व अझै फेरिएको छ । सेनाले प्रयोग गर्दै आएको टुँडिखेलको भागमै अहिले विभिन्न जातजाति, धर्म र संस्कृतिका कार्यक्रम हुन थालेका छन् ।
टुँडिखेल व्यवस्थित बनाउने र अतिक्रमणबाट जोगाउने विषय महानगरको सभामा हरेक वर्ष उठ्ने गरेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । टुँडिखेललाई वास्तविक टुँडिखेलकै स्वरूपमा राख्न महानगरले पहल गरेको उनको भनाइ छ । ‘टुँडिखेल राष्ट्रिय गौरवको विषय भएकाले यसको संरक्षणमा सबै सरोकारवालाले उत्तिकै ध्यान दिनुपर्छ,’ उनले भने ।
टुँडिखेलको इतिहास
लिच्छविकालमा प्रतिंगिरा देवी र वज्रभैरवले वज्रतुण्डी नामकी देवीलाई दाइजो दिएको भूमि हुनाले टुँडिखेललाई तुण्डी क्षेत्र भनिन्थ्यो । यही तुण्डी शब्दबाट यस मैदानको नाम टुँडिखेल रहेको इतिहासमा उल्लेख छ । यसपछि मध्यकालमा पृथ्वीनारायण शाहले काठमाडौं विजय गरेपछि यो सैनिकहरूको परेड खेल्ने मैदान बनेको थियो ।
यसपछि राणा प्रधानमन्त्री जंगबहादुरले शाही घोषणा र दरबारका महŒवपूर्ण निर्णय टुँडिखेलबाट सार्वजनिक गर्ने थिति बसाले । सरकारी निर्णय सार्वजनिक गर्दा खरीबोटको चौतारी वरिपरि सेनाले पहरा दिन्थ्यो । जंगबहादुरले नै यहाँ उभिएर सन् १८४८ मा तत्कालीन राजा राजेन्द्र शाहविरुद्ध सेना एकत्र गरेका थिए । वीरशमशेरले पनि यहीँबाट सन् १८८५ मा आफूलाई श्री ३ घोषणा गरे । यसपछि देवशमशेरको पालादेखि टुँडिखेलमा तोप पड्काउन थालिएको पाइन्छ । काठमाडौंका जनतालाई समयको सूचना दिन मध्यदिनको बाह्र बजे सेनाले तोप पड्काउँथ्यो । सन् १९२४ मा चन्द्रशमशेरबाट दासप्रथा उन्मूलनको घोषणा पनि यहीँबाट गरिएको इतिहास छ । यसैगरी विदेशी पाहुना आउँदा स्वागत गर्ने ठाउँ पनि टुँडिखेल नै थियो, जुन आजसम्म कायमै छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.