नेपालको विकास कसरी गर्ने भनेर अहिले धेरैले धेरैथरी मोडेलको विकासे बहस गरिरहेका छन् । नेपालको विकास गर्न नेपालसँग के छ, के छैन र कसरी गर्ने भनेर बतासे चर्चा र चिन्तन पनि शुरू भएको छ । कोही भन्छन्, नेपालको विकास कृषिबाटै हुन्छ, कोही भन्छन्, पर्यटन, कोही जलविद्युत्को बिगुल फुक्छन् भने कोही दूरसञ्चार ।
सात ‘ज’ अर्थात् जल, जमीन, जनशक्ति, जङ्गल, जनावर, जडीबुटी, जलवायुबाटै नेपालको विकास हुन्छ भनेर नथाक्नेहरू पनि थुप्रै छन् । अझ कतिपयले त आठ ‘ज’ र नौ ‘ज’का पनि कुरा गर्छन् ।
हुन पनि हो, जल हामीसँग प्रशस्तै छ । खोलामा छ जल अनि आकाशबाट पनि जल बर्सन्छ । मेलम्चीदेखि मेची, महाकाली सबै खोलामा जलैजल छ । संसारकै धनी भनेपछि यसको कुरा के गर्नु र ?
जमीनको त झन् कुरै नगरौं । त्यै जमीन प्लटिङ गरेरै त एकाधलाई छाडेर आज कतिपय मानिस फुटपाथपतिबाट करोड र अर्बपति भए । कतिपय बैङ्कका ठूला अधिकारीसमेत बैङ्कमा जागीर खाँदाखाँदै जमीन किनबेच धन्दामा लागेरै मालामाल भए । त्यसैले जमीनबाट विकास भइरहेको कुरा त छर्लङ्गै छँदैछ । सित्तैमा दिए पनि नलिने सिस्नुघारीसमेत लाखौंको आनामा बेच्न पाएपछि जमिनबाट विकास नभए के हुन्छ त ?
जनशक्तिको त झन् कुरै नगरौं । यहाँ त जनशक्ति पार्टीदेखि हरेक जुलुस, सभा, सम्मेलनसम्मका लागि चाहिनेमात्र नभई विदेश निर्यातलाई समेत पुग्ने जनशक्ति नेपालसँग छ ।
(तीतोमीठोबाट) वर्ष ८, अंक ५, शुक्रवार २२ भदौ, २०६९