यतिखेर भैरहवामा २ वर्षपहिले निर्माण सम्पन्न त्यहाँको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग राखेर व्यापारी, व्यवसायी, पर्यटन क्षेत्रका उद्योगपतिहरू आन्दोलनमा छन् । यो रामरमिता देख्दा लाग्छ, ‘कहीं नभएको जात्रा हाँडीगाँउमा’ भनेजस्तै भएको छ । कुनै बेला त्यसको निर्माणका लागि तिनै वर्ग सरकारलाई दबाबमा राख्न आन्दोलनमै थिए । एशियाली विकास बैंकको ऋणमै सही निर्माण पनि सम्पन्न भयो । ती वर्गलगायत जजसले विमानस्थलको निर्माणको चाह राखेका थिए ती पनि खुशी नै देखिन्थे । केही समय अन्तरराष्ट्रिय एकाध विमानहरूले त्यहाँ सेवा पनि प्रवाह गरेकै हुन् ।
तर, यता पछिल्लो १ वर्षदेखि तिनका सेवाको निरन्तरता त हुन सकेन नै, अन्य विमान कम्पनीले पनि खासै चासो देखाएनन् । केही चार्टर्ड विमान पनि आए । विमानस्थल निर्माणको खुशी नसेलाउँदै अहिले विमानहरू नियमित भएनन् भन्दै त्यसैको रोइलो गरिएको कुराले के देखाउँछ भने विमानस्थलको निर्माण गरिनुपूर्व तिनको भविष्यका बारेमा चाहिँ कुनै चिन्ता नै गरिँदैन कि ? भन्ने कुरा यस बेला उठ्न थालेको छ । खासमा नेपाल प्रवेश गर्ने विमानहरूलाई भारतले वैकल्पिक हवाई रूट नदिनाले त्यहाँ आउने विमानलाई पहिलेझैं लामो फेरो लिनुपर्ने भएकाले लागतमा कमी नआउने हुँदा तिनले थप चासो राखेनन् ।
पोखरामा बनेको अन्तरराष्ट्रिय विमानस्थलको पनि उही कथाव्यथा हो । चिनियाँ ऋण लिएर बनाएको विमानस्थलको किस्ता तिर्ने आयसम्म पनि नआउने देखिएपछि सरोकारीहरू आन्दोलित हुनु स्वाभाविकै हो । तर, भारतीय आकाश भएरै उडिरहनुपर्ने नेपाल छिर्ने विमानहरूलाई एउटा रूटबाहेक अर्को वैकल्पिक रूट नदिने भारतीय प्रवृत्ति हेर्दा लाग्छ, अहिले ती विमानस्थल ‘भालुको कन्पट’सरह हुन लागेका त होइनन् ? यसले अब नेपालमा निर्माण गरिने कुनै पनि अन्तरराष्ट्रिय विमानस्थलको निर्माण नीतितर्फ नै विशेष दिमागी मन्थन (बे्रनस्टोर्मिङ) हुनु आवश्यक देखिएको छ । त्यस्ता विमानस्थलको विकल्पमा खासगरेर पोखरा, लुम्बिनी भैरहवालाई स्थलगत मार्गले जोड्ने द्रुतमार्ग, सुरुङ मार्गहरूको निर्माणमा खर्च गर्ने नीति लिनु उचित हुन्छ कि ? राजधानीबाट करीब २०० किलोमीटरको दूरीमा रहेका ती
स्थानको विकासै गर्ने हो भने काठमाडौंबाट २/३ घण्टामा सडक यातायातबाट पुगिने गरी स्तरीय सडक सञ्जालको निर्माणतिर लाग्नुचाहिँ नेपालको आवश्यकता हो कि ?
ठीक यस्तै बेला पूर्वको धरानमा विमानस्थल निर्माणको समाचार बाहिर आएको छ । तीस पैंतीस किलोमीटरकै दूरीमा रहेको विराटनगर विमानस्थल नजिकै रहेको धरानमा अर्को विमानस्थलको आवश्यकता किन पर्यो ? यस्ता प्राथमिकतामा नेताहरू लागेको देख्दा उदेक र अनौठो मात्र लाग्दैन, हाम्रो आवश्यकताचाहिँ विमानस्थलको निर्माण मात्र हो कि भन्ने देखिन थालेको छ । प्रसंग र नजिकैको उदाहरणका लागि इलामको सुकीलुम्बामा बनेको विमानस्थलको हरिबिजोगलाई नै हेरे काफी छ । कुनै अमुक राजनीतिक नेताको स्वार्थसित जोडिएको उक्त विमानस्थल अहिले प्रयोगहीन अवस्थामा मात्र छैन, त्यो भालुको कन्पटसरह भएको छ । त्यहाँ गरिएको लगानी बालुवामा हालेको पानी बराबर भएको छ । उक्त लगानी बरु एउटा स्तरीय अस्पताल बनाउनमा खर्चिएको भए पूर्वी पहाडका आम नागरिकले स्वास्थ्य सेवा पाउँथे, इलाम गुल्जार हुन्थ्यो । यस्तै कथा गुल्मीको विमानस्थलको पनि होला, बलेवाकै पनि होला । नेपालको आवश्यकता भनेको स्तरीय सडक सञ्जालकै हो, रज्जुमार्ग वा रोपवेहरूको हो । पहाडी क्षेत्रमा वातावरणीय विनाशका लीला देखाएर सडक निर्माण होइन, सुरुङ मार्गहरूका माध्यमबाट वातावरण जोगाएरै पनि स्तरीय सडक सञ्जाल निर्माण गरिएका विश्वमा अनेकौं उदाहरण छन् । अब त्यतापट्टि लाग्ने हो कि ?
नेपालको आवश्यकता भनेको स्तरीय सडक सञ्जालकै हो, रज्जुमार्ग वा रोपवेहरूको हो । पहाडी क्षेत्रमा वातावरणीय विनाशको लीला देखाएर सडक निर्माण होइन, सुरुङ मार्गहरूका माध्यमबाट वातावरण जोगाएरै पनि स्तरीय सडक सञ्जाल निर्माण गरिएका विश्वमा अनेकौं उदाहरण छन् । अब त्यतापट्टि लाग्ने हो कि ?
अन्तरराष्ट्रिय हवाई रूटमा जहिल्यै बखेडा झिक्ने भारतीय प्रवृत्ति हेर्दा लाग्छ, निजगढमा बन्ने भनिएको विमानस्थलको पनि खासै भविष्य देखिँदैन । तथापि, काठमाडौंको हवाई चाप धान्न कुनै न कुनै विकल्पचाहिँ आवश्यक भइसक्यो । त्यो निजगढ नै सही, राजधानीनजिकै कुनै वैकल्पिक अर्को एउटा विमानस्थल आवश्यक भने देखिएको छ । त्यसका लागि अहिले काठमाडौं जोड्ने दु्र्रतमार्गको निर्माण गरिएजसरी नेपालका पहाडहरू सुरुङबाट छिचोलेर यात्राको दूरी कम गर्ने र भएका राजमार्ग र सडकहरूको स्तरोन्नति गरेर लैजाने निर्माण नीति लिनु जरुरी देखिएको छ । जतिसुकै सरकारी सहुलियतका कुराको घोषणा भए पनि नेपाल प्रवेश गर्ने कुनै पनि अन्तरराष्ट्रिय विमानले भारतीय आकाश भएर उड्नुपर्ने बाध्यता हाम्रा लागि जहिल्यै एकखाले राजनीतिक पासोजस्तो देखिने भएकाले त्यसको स्थायी समाधान नभएसम्म अन्तरराष्ट्रिय विमानस्थलको निर्माणमा भएको लगानी बालुवामा पानी हालेसरह हुने देखियो । अहिले भैरहवामा भइरहेको आन्दोलनलगायत त्यसका लागि उपल्लो तहमा आएको दबाब हेर्दा के लाग्छ भने यो देशमा विमानस्थलको निर्माण गर्नुपूर्व त्यसको व्यावसायिक भविष्यका बारेमा कुनै अध्ययन र विश्लेषणै पो हुँदो रहेनछ । यो लेखक तत् क्षेत्रको विज्ञ त होइन, तथापि अर्थतन्त्रको सामान्य ज्ञान राख्ने नाताले यस क्षेत्रमा देखिएको यो नौटंकी र रोइलोमा प्रश्न गर्न मन लाग्छ, हामी किन विमानस्थल निर्माणका पछि दगुरिरहेका छौं ?
यस्तै अवस्था अहिले चिनियाँ ऋण सहयोगमा निर्माण सम्पन्न भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलको पनि छ । त्यहाँ पनि कुनै उडान नियमित हुन सकेको छैन । त्यहाँका सरोकारवालाहरू पनि आन्दोलित होलान् । भलै त्यसको आयतन भैरहवाका सरोकारीको अनुपातमा नहोला । किनभने पोखरा यसै पनि पर्यटनको बलियो सम्भावना रहेको स्थान हो र त्यसको गरिमा कायम राख्न र त्यहाँ बनेका अन्य पूर्वाधार धान्न त्यो विमानस्थलकै आवश्यकता पनि नहुन सक्छ । तर, भैरहवामा भने पर्यटकीय क्षेत्रमा करीब १२/१३ अर्ब रुपैयाँ निजीक्षेत्रबाट नयाँ लगानी भएको छ र त्यो अन्तरराष्ट्रिय विमानस्थल बनेपछिको सम्भावनालाई हेरेर लगानीकर्ताले लगानी खन्याएका हुन् । त्यसैले विमानस्थल चल्न नसक्नु तिनका लागि चिन्ता हुनु स्वाभाविकै हो । बैंकहरूले पनि ती क्षेत्रमा ठूलै लगानी गरेका होलान््, छन् । अब भोलि तिनको ऋण मोचनका लागि पनि अर्को आन्दोलन नहोला भन्न सकिँदैन । अब अन्तरराष्ट्रिय उडानहरूकै अनिश्चितता भएपछि त थप चिन्तित हुनु र आन्दोलित हुनु मानवीय स्वभावै पनि हो । तर, यो समस्याको समाधान त्यसरी हुन्छ र ? सोचनीय छ ।
यताको यो रोइलोको सम्भावनाको चिन्ताभन्दा पनि लुम्बिनीपारि नजिकैको भारतीय सीमाक्षेत्रमा नेपालको बुद्ध जन्मथलो र लुम्बिनीको पर्यटकीय सम्भावनालाई हेरेर भारतले अर्को कुनै अन्तरराष्ट्रिय विमानस्थल बनाएर हाम्रो व्यावसायिक भविष्य खोसी नै हालेछ भने पनि त्यसबेला हामीसित रमिता हेर्नेबाहेक अर्को विकल्प हुने छैन, केही गर्न सक्ने पनि छैनौं ।
प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।