चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो र ऊसँग व्यापारघाटाको आँकडा प्रतिवर्ष बढ्दो छ । नेपाली वस्तु चीनतर्फ निर्यात बढाउन विभिन्न समस्या छन् । त्यस्ता समस्यालाई सम्बोधन गरी निर्यात बढाएर व्यापारघाटा कम गर्ने उपाय खोजिनुपर्छ । सस्तो उत्पादनका कारण विश्वभरिकै बजारमा चीनको दबदबा रहेको छ । अमेरिका, भारत जस्ता देश पनि चीनसँगको व्यापार घाटाका कारण चिन्तित छन् । यस्तोमा नेपालको चिन्ता बढ्नु स्वाभाविक हो । गत आर्थिक वर्षमा २ अर्ब ५९ करोड रुपैयाँको नेपाली सामान चीन निर्यात भएकोमा २ खर्ब ९८ अर्ब ७७ करोड रुपैयाँ बराबरको चिनियाँ सामान आयात भएको सरकारी तथ्यांक छ । चीनले अहिले अतिकम विकसित मुलुकहरूका सबै उत्पादनलाई शून्य भन्सारको नीति लिएको समाचार आएको छ । नेपाली अधिकारीहरूले यसबारे चासो दिएको पनि देखिँदैन । नेपाल स्तरोन्नति नहुँदासम्मका लागि भए पनि यो ठूलो अवसर हो । स्तरोन्नति भइसकेपछि पनि द्विपक्षीय सम्झौतामार्फत यो सुविधा कायम गर्न प्रयत्न गनुपर्छ । यद्यपि भन्साररहित सुविधाले निर्यात बढाउन सक्छ भन्न सकिँदैन । अमेरिकाले टिफा सम्झौताअन्तर्गत थुप्रै गार्मेन्ट वस्तुमा भन्साररहित सुविधा दिएको छ तर त्यो सुविधा उपयोग गरेर निर्यात बढाउन सकिएको छैन । चीनले हाल नेपाललगायत अतिकम विकसित मुलकका ९८ प्रतिशत सामानमा शून्य भन्सार सुविधा दिएको छ तर त्यसको उपयोग नेपालले गर्न सकेको छैन ।
नेपालमा पाएको सुविधाअनुसार तत्काल सामान उत्पादनतर्फ लागिहाल्न सक्ने अवस्था छैन । सरकारलाई अन्य देशसँग यो सुविधा माग, यो सुविधा माग भनेर भन्ने उद्योगी व्यवसायीले भनिरहेका हुन्छन् । तर, उत्पादन बढाउनेतिर भने काम हुन सकेको छैन । जबसम्म गुणस्तरीय र विश्वबजारले खोजेअनुसारका सामान उत्पादन हुँदैन तबसम्म जुन देशले जेजस्तो सुविधा दिए पनि निर्यात बढाउन सकिँदैन । वास्तवमा नेपालले वस्तुमा विविधता ल्याउने र ठूलो संख्यामा वस्तु उत्पादन गर्ने क्षमता राखेको छैन । किन्छु भनेर कुनै देशबाट अर्डर आएमा ठूलो स्केलमा तोकिएको समयमै आपूर्ति गर्ने क्षमता नेपालको छैन । चीनतर्फ निर्यात बढ्न नसक्नुको एउटा कारण गैरभन्सार अवरोध हो । चीनतर्फ निर्यात गर्नका लागि गुणस्तरीय प्रमाणित हुनुपर्छ । त्यसका लागि अन्तरराष्ट्रिय स्तरको प्रयोगशाला आवश्यक पर्छ । चीनबाट जस्तोसुकै सामान जतिसुकै परिमाणमा आए पनि फरक पर्दैन । तर, नेपालबाट सानो केही सामान सीमापारि पठाउन पर्यो अनेक कागजपत्र खोजिन्छ । त्यही कारण पनि निर्यात बढाउन गाह्रो भएको हो । त्यस्तै नेपालतर्फको पूर्वाधार निकै कमजोर रहेको छ । सडकहरूको अवस्था दयनीय देखिन्छ । सामान लैजानैका लागि पनि महँगो पर्छ । रसुवागढी नाकासम्म जाने बाटोको हालत दयनीय छ । अन्य विभिन्न सडकहरू ठेक्का लागे पनि काम हुन सकेको देखिँदैन ।
त्यसैले नेपालले भन्साररहित सुविधाका लागि पहल गर्नुपर्छ । साथसाथै आफ्नो उत्पादन गुणस्तरीय, नियमित आपूर्ति गर्न सक्ने गरी उत्पादन बढाउने नीति लिनुपर्छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा अम्लीय फलफूल निर्यातका लागि सहमति भएको थियो तर अहिलेसम्म निर्यात हुन सकेको छैन । दूध, मह, च्याउ, नट्स, फलफूल, कफी, ग्रीन टी, मसला, यार्चागुम्बा, रुद्राक्ष, तरकारीलगायत वस्तु अहिले चीनतर्फ निर्यात भइरहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । यस्तो ज्यादै न्यून परिमाणको निर्यातलाई बढाउन आवश्यक रणनीति बन्न सकेको देखिँदैन । खासमा कस्तो वस्तुको माग त्यहाँ छ भनेर त्यसअनुसार सामान उत्पादन गर्न नै नसकेको अवस्था छ । उत्पादित सामानको गुणस्तर कायम गर्न पनि सकिएको छैन । भएको वस्तुको पनि प्रमाणीकरण गर्ने प्रयोगशालाको अभाव छ । त्यसैले नेपालले यी पक्षमा तत्काल सुधार गर्नुपर्छ । कनेक्टिभिटीमा सुधार हुनुपर्छ । यसरी चीनतर्फ निर्यात बढाउन सरकार र निजीक्षेत्रले गर्नुपर्ने काम थुप्रै बाँकी देखिएको छ ।