विराटनगर । विराटनगर–जोगवनी एकीकृत जाँच चौकी (आईसीपी) मा रहेको नेपाल भन्सार यार्डको उद्घाटन भएको १९ महीना बितेको छ । तर, उद्घाटनको दिनपछि कार्गो बोकेर भारतीय रेल आएको छैन । नेपालको तुलनामा सस्तो भन्दै उद्योगी, व्यवसायीले पारिकै यार्ड प्रयोग गर्दा नेपाल र भारतका प्रधानमन्त्रीले उद्घाटन गरेको नेपाल कस्टम यार्डमा भारतीय रेल नआएको हो ।
भारतको बथनाहदेखि मालवाहक र यात्रुवाहक रेल सञ्चालन गर्ने सम्झौताअनुरूप २०६८ सालबाट काम शुरू भए पनि सात किलोमीटरमात्र काम सम्पन्न भएर एकीकृत जाँच चौकीसम्म भारतीय रेल आएको हो । भारत सरकारको ४ अर्ब रुपैयाँ लगानीमा नेपालको कटहरीसम्म १८ किलोमीटर रेलवे निर्माण गरी यात्रुवाहक रेलसमेत सञ्चालन गर्ने योजना थियो । तर, कटहरीमा जमीनको मुआब्जा विवाद समाधान नहुँदा ११ किलोमीटर रेलवे ट्र्याक निर्माण हुनै सकेको छैन ।
नेपाल कस्टम यार्ड सञ्चालनको जिम्मा पाएको ट्रान्स नेपालका विराटनगर प्रमुख लक्ष्मी सुब्बा चारथरी वस्तु मात्र आयात गर्ने अनुमति र जोगवनी कस्टमको भन्दा लोडअनलोड खर्च बढी भएको भन्दै उद्योगी व्यवसायीले नेपाल कस्टम यार्ड प्रयोग नगरेको बताउँछन् । कस्टम यार्ड राम्ररी सञ्चालन नभए पनि भौतिक पूर्वाधार निर्माण भने अघि बढेको उनले जानकारी दिए । पुस १९ गते वातावरणीय प्रभाव मूल्यांकनबारे सार्वजनिक सुनुवाइ भइसकेको छ ।
हनुमान चोकदेखि आईसीपीसम्मको ४ दशमलव ४ किलोमीटर सडक २ लेन रहेकोमा त्यसलाई ४ लेन बनाउने, विराटनगर–१८ मा रहेको आईसीपी परिसरमा ४२ हजार ४० वर्गमीटरको पार्किङ यार्ड, २०० वर्गमीटरको निरीक्षण सेड, २ हजार वर्गमीटरको गोदाम निर्माण गरिने र त्यसका लागि सरोकारवालाको बैठकसमेत सम्पन्न भएको सुब्बाले जानकारी दिए ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला उनी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०८० जेठ १८ गते नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट हरियो झन्डा फहराएपछि नेपालतर्फको एकीकृत जाँच चौकी (आईसीपी) सम्म भारतीय कार्गो रेल आएको थियो । उक्त आईसीपी भारतले निर्माण गरेर नेपालाई हस्तान्तरण गरेको हो । सोही दिन पहिलोपटक आरती स्ट्रीप प्रालिको जस्तापाताको कच्चा पदार्थ बोकेको कार्गाे रेल आएयता थप कार्गो रेल आएका छैनन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत अवरोधहरू हटाएर कार्गाे रेल नेपाल कस्टम यार्डसम्म ल्याउनुपर्ने बताउँछन् । कस्टम यार्डसम्म मालवस्तु आउन थालेपछि लोडअनलोडको मूल्य समायोजन गर्न सकिने उल्लेख गर्दै उनले नेपाल कस्टममै मालवस्तु लोडअनलोड हुँदा ढुवानी खर्च घट्ने र यसले नेपाली उपभोक्ताले तयारी वस्तु खरीद गर्दा पनि सस्तोमा पाउने हुँदा आम उपभोक्ताको समेत हित हुने बताए ।
नेपालका उद्योगी व्यवसायी भारतीय रेलवेले नेपाल कस्टम यार्डसम्म चार वस्तु मात्र ढुवानी गर्ने अनुमति दिएको र तीलगायत अन्य वस्तु नेपाल कस्टम यार्डभन्दा भारतीय कस्टम यार्डमा अनलोड गरेर ल्याउँदा सस्तो पर्ने भएकाले अझै भारतीय कस्टम यार्ड नै प्रयोग गरिरहेको बताउँछन् । नेपाल कस्टम यार्डमा भारतीय रेलमार्फत कोलकाता बन्दरगाहबाट सिमेन्ट, कोइला, क्लिंकर र मलमात्र ल्याउन पाउने सम्झौताका कारण उद्घाटन भएको लामो समयसम्म पनि विराटनगर आईसीपीस्थित नेपाल कस्टम यार्डमा कार्गाे ढुवानी हुन नसकेको बताउँछन् ।
कार्गो रेलबाट आउने मालवस्तु भारतीय कस्टम यार्डबाट ल्याउँदा नेपाल कस्टम यार्डको तुलनामा प्रतिटन ६४ देखि २०० रुपैयाँसम्म सस्तो पर्ने उद्योग संगठन मोरङको अध्ययनले देखाएको छ । संगठनका महानिर्देशक चूडामणि भट्टराईले रेलवे यार्डमा कार्गो ह्यान्डलिङ चार्ज तथा ढुवानी दरमा भएको फरकले नेपालतर्फको यार्ड प्रयोगमा आउन नसकेको बताए ।
रेलमार्गबाट जोगवनीको आईसीपीस्थित कस्टम यार्डसम्म स्पन्ज आइरन ल्याउँदा लोडअनलोड चार्ज र २५ किलोमीटरसम्मको ढुवानी दर प्रतिटन ६६४ रुपैयाँ छ । त्यहाँ पार्किङ शुल्क प्रतिटन ३२ रुपैयाँ तोकिएको छ । यसरी एक टन स्पन्ज आइरन भारतीय कस्टम यार्डमा झारेर कारखाना पुर्याउँदा ६९६ रुपैयाँ खर्च लाग्छ ।
यही वस्तु विराटनगरको आईसीपीस्थित नेपाल कस्टम यार्डबाट ल्याउँदा प्रतिटन लोडअनलोड चार्ज ४०० र २५ किलोमीटरसम्मको ढुवानी खर्च प्रतिटन ३६० रुपैयाँ गरी ७६० रुपैयाँ तिर्नुपर्छ । यसरी भारतीय र नेपाली कस्टम यार्डबीचको लागत तुलना गर्दा नेपालतर्फ प्रतिटन ६४ रुपैयाँ महँगो देखिन्छ ।
स्पन्ज आइरनका आयातकर्ता एवं संगठनका कार्यकारी सदस्य सौरभ शारडा भन्छन्, ‘एक र्याकमा कम्तीमा २ हजार ५०० टन स्पन्ज आइरन आउँछ । भारतीय कस्टम यार्डबाट ल्याउँदा २ हजार ५०० टनमा १ लाख ६० हजार रुपैयाँ सस्तो पर्छ । यो देखीदेखी नेपाल कस्टम यार्डबाट कसले आयात गर्छ ?’
त्यस्तै जीआई वायरको मुख्य कच्चा पदार्थ एमएस वायर रड भारतीय कस्टम यार्डबाट ल्याउँदा प्रतिटन लोडअनलोड र २५ किलोमीटरसम्मको ढुवानी खर्च ४४० रुपैयाँ छ । भारतीय कस्टम यार्डमा टनको ३२ रुपैयाँ पार्किङ शुल्क छ । पारि लोडअनलोड, ढुवानी र पार्किङ खर्च गरेर प्रतिटन ४७२ रुपैयाँ खर्च हुन्छ ।
यही वस्तु नेपाल कस्टम यार्डबाट ल्याउँदा प्रतिटन लोडअनलोड ४०० र ढुवानी खर्च २४० गरी ६४० रुपैयाँ पर्छ । नेपाल कस्टम यार्डबाट ल्याउँदा पारिभन्दा प्रतिटन १६८ रुपैयाँ महँगो पर्छ ।
हुलास वायरकी युक्ती गोल्छाका अनुसार एक र्याकमा २ हजार ६०० टन एमएस वायर रड आउँछ । यो सामान भारतीय कस्टम यार्डबाट ल्याउँदा प्रतिटन १६८ का हिसाबले १ र्याकमा ४ लाख ३६ हजार ८०० रुपैयाँ सस्तो पर्छ । त्यसैले नेपाल कस्टम यार्डबाट आयात हुन नसकेको हो ।
फलामे सामग्रीको अर्को कच्चा पदार्थ एचआर सिट त नेपाल कस्टम यार्डबाट ल्याउँदा अझै महँगो पर्छ । एचआर सिटबाट सीआर सिट बनाइन्छ । सिआर सिट स्क्वायर पाइप, एंगल, च्यानल आदिको मुख्य कच्चा पदार्थ हो ।
महानिर्देशक भट्टराईका अनुसार भारतीय कस्टम यार्डबाट एक टन एचआर सिट ल्याउँदा लोडअनलोडसहित २५ किलोमीटरसम्मको ढुवानी खर्च ४१६ र पार्किङ चार्ज ३२ गरेर ४४८ रुपैयाँ खर्च हुन्छ । यही वस्तु नेपाल कस्टम यार्डबाट ल्याउँदा लोडअनलोडको ४०० र २५ किलोमीटरको ढुवानी भाडा २२० गरी प्रतिटन ६२० रुपैयाँ पर्छ । नेपाल कस्टम यार्डबाट एचआर सिट ल्याउँदा प्रतिटन १७२ रुपैयाँ महँगो पर्छ ।
‘एक र्याकमा २ हजार ५०० देखि ३ हजार टनसम्म एचआर सिट आउँछ । भारतीय कस्टमबाट २ हजार ५०० टन एचआर सिट ल्याउँदा नेपालको तुलनामा ४ लाख ३० हजार रुपैयाँ सस्तो पर्छ । यही कारण आईसीपीको नेपाल कस्टम यार्डसम्म रेलमार्गबाट सामान आयात हुन नसकेको हो,’ भट्टराईले भने ।
महानिर्देशक भट्टराईका अनुसार नेपाल कस्टम यार्डमा कार्गो ह्यान्डलिङ शुल्क सरकारले तोकेको हो । यो शुल्कलाई माग, आपूर्ति र प्रतिस्पर्धाका आधारमा घटबढ गर्नुपर्ने उनको भनाइ छ ।
मोरङ व्यापार संघका कार्यकारिणी सदस्य अमित शारडा दुवै देशका सरकारले वार्ता गरे यो समस्याको समाधान एकै दिनमा निकाल्न सक्ने बताउँछन् । भारतीय दूतावासले चाहेको खण्डमा यो समस्याको समाधान तत्कालै गर्न सक्ने भए पनि त्यसो नगर्दा निजीक्षेत्रले लाभ लिन नपाएको उनले बताए । व्यवसायीहरू दुई देशका प्रधानमन्त्रीले उद्घाटन गरेको कार्गो रेलसेवाले निरन्तरता पाउन नसक्नु दु:खद भएको बताउँछन् ।