विराटनगर। विराटनगर महानगरपालिकाबाट सोमवारदेखि वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुन: श्रम स्वीकृति सेवा शुरू भएको छ । महानगरकी उपमेयर शिल्पा निराला कार्कीले विराटनगर–२ का नरेश राय अमातलाई श्रम स्वीकृतिको पत्र दिएर सेवाको शुभारम्भ गरेकी हुन् । वैदेशिक रोजगार ऐन २०७४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ ।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित र भरपर्दो तथा सहज बनाउन नेपाल सरकारले स्थानीय तहबाटै श्रम स्वीकृति दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार विराटनगर महानगरपालिकाबाट व्यक्तिगत श्रम स्वीकृति तथा पुन: श्रम स्वीकृति सेवा शुरू गरिएको महानगरको रोजगार शाखाका इन्जिनियर कपिल थापाले जानकारी दिए ।
२०७९ चैत १६ गतेको नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार स्थानीय तहको रोजगार शाखाबाट सेवा प्रवाह गर्ने कार्य शुरू गरिएको उपमेयर कार्कीले बताइन् । स्थानीय तहबाट श्रम स्वीकृति शुरू भएसँगै वैदेशिक रोजगारीमा जानेका लागि सहज भएको उनको भनाइ छ ।