पुस २, काठमाडौं (अस) । अर्थ मन्त्रालयमा बसेको उच्चस्तरीय वित्तीय व्यवस्थापन समितिको बैठकले वित्तीय क्षेत्र विकास रणनीति तयार गर्न कार्यदल बनाउने निर्णय गरेको छ । उक्त कार्यदललाई रणनीतिको मस्यौदा तयार गर्न चैत मसान्तसम्मको अवधि तोकिएको मन्त्रालयले जानकारी दिएको छ । सो काम गर्न अर्थमन्त्रीको अध्यक्षतामा केन्द्रमा उच्चस्तरीय निर्देशक समिति र त्यसअन्तर्गत छुट्टाछुट्टै प्राविधिक र उपसमितिहरू गठन भएका छन् ।
यो कार्यदलले देशभरि सेमिनार, अध्ययन र छलफल गरी वित्तीय विकासको रणनीति तयार पार्नेछ । कार्यदलको प्राविधिक समितिमा राष्ट्र बैङ्कका वरिष्ठ गभर्नर अध्यक्ष, डेपुटी गभर्नर, अर्थ मन्त्रालयका सहसचिव र बीमा तथा धितोपत्र बोर्डका अध्यक्ष सदस्यका साथै राष्ट्र बैङ्कका निर्देशक सदस्यसचिव रहने व्यवस्था गरिएको छ । सो अवसरमा बोल्दै अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले नयाँ बन्ने रणनीति वित्तीय संस्था, पूँजीबजार र बीमा व्यवस्थापनका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । यसले मुलुकमा वित्तीय सन्तुलन कायम गर्न आउँदो १० वर्षसम्मका लागि निर्देशित गर्ने भन्दै कोइरालाले यस किसिमको काम इतिहासमै पहिलोपल्ट गर्न लागिएको बताए । आगामी वर्षको बजेट तयार गर्न यसबाट ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उनले बजेटमा तोकिएका काम सक्रिय रूपमा अघि बढाउन सरोकारवालाहरूलाई आग्रह गरे ।
२०७०/७१ को बजेटमा उल्लेख भएअनुसार वित्तीय क्षेत्रको विकासमा सहयोग पुर्याउन कार्यदल बनाइएको हो । बजेट भाषणको वित्तीय क्षेत्र सुदृढीकरणको एजेण्डामा भनिएको छ, ‘वित्तीय स्थायित्व कायम गर्ने, वित्तीय पहुँच बढाउने र वित्तीय क्षेत्रको विकास एवम् विस्तारबाट द्रुत गतिमा आर्थिक वृद्धि हासिल गर्न सघाउ पुर्याउन र बैङ्क वित्तीय संस्थाहरूको गुणात्मक विकास एवम् पूँजीबजार तथा बीमाक्षेत्रको समग्र पक्षलाई सुदृढ बनाउन वित्तीय क्षेत्र विकास रणनीति तयार गरिनेछ ।’
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.