काठमाडौं । नक्कली कागजात पेश गरी ठेक्का हात पार्ने प्रयत्न गरेको आरोप लागेको कम्पनीलाई जगदुल्ला हाइड्रोपावरको सिभिल र हाइड्रो मेकानिकल कामको ठेक्का दिने निर्णय कम्पनीले गरेको छ ।
- चिनियाँ कम्पनी–जियाङ्सी कन्सट्रक्शन इन्जिनीयरिङ कर्पोरेशन (जेसीई) लाई परियोजनाको सिभिल र हाइड्रो मेकानिकल कामको ठेक्का दिने गरी मंगलवार आशयपत्रको सूचना प्रकाशित
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले आरोप खेपिरहेको चिनियाँ कम्पनी जियाङ्सी कन्सट्रक्शन इन्जिनीयरिङ कर्पोरेशन (जेसीई) लाई उक्त कामको जिम्मा दिने गरी मंगलवार आशयपत्र (लेटर अफ इन्टेन्ट) को सार्वजनिक सूचना निकालेको छ ।
यसको बोधार्थ अर्को चिनियाँ प्रतिस्पर्धी कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडलाई पनि दिइएको छ । सार्वजनिक खरीद ऐनअनुसार कम्पनीको निर्णय चित्त नबुझे उजुरी गर्ने अधिकार सिनो हाइड्रोलाई हुन्छ ।
सिनो हाइड्रोले यसअघि नै जेसीईले नक्कली कागजात पेश गरी जगदुल्लाको ठेक्का हात पार्न लागेको भनी प्रहरीमा निवेदन दर्ता गरिसकेको छ । उजुरी परेसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।
जगदुल्ला हाइड्रोपावरका एक उच्च अधिकारीले चिनियाँ कम्पनी प्रहरी अनुसन्धानमा तानिए पनि उसले पेश गरेको कागजात नक्कली हो/होइन पुष्टि नभइसकेकाले नियमित प्रक्रिया रोक्न नमिल्ने बताए ।
‘पहिलो कुरा त जेसीईले पेश गरेको कागजातको आधिकारिकता पुष्टि भएको छैन । साथै कुनै नियामक निकायले अहिले नियमित प्रक्रिया अघि नबढाउनु भनेर निर्देशन पनि दिएको छैन । अनुसन्धानबाट पुष्टि नभएसम्म हामीले त उसले पेश गरेको कागजातलाई आधिकारिक मान्ने हो,’ उनले आर्थिक अभियानसँग भने‚ ‘भोलिको दिनमा प्रहरी अनुसन्धानबाट नक्कली कागजात पेश गरेको प्रमाणित भए जेसीईलाई मात्रै होइन उसको ज्वाइन्ट भेन्चर कम्पनी एएनकेलाई समेत कालोसूचीमा राखेर कारबाही हुन्छ ।’
डोल्पा जिल्लाको जगदुल्ला नदीमा बन्ने उक्त आयोजनाको ठेक्का हात पार्ने उद्देश्यले जेसीई/एएनके कन्सट्रक्शनले यसअघि पनि जलविद्युत् आयोजना निर्माण गरिसकेको अनुभवको योग्यता पुर्याउन नक्कली कागजात पेश गरेको भन्ने आरोप छ । जेसीईले हेचाउ साङचेङ इलेक्ट्रिक पावर कम्पनीको लागि चीनमा ९० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको कागजात पेश गरेको थियो ।
तर, गत बिहीवार आफूलाई हेचाउ कम्पनी दाबी गर्दै जगदुल्ला हाइड्रोपावर कम्पनीलाई लेखिएको एक पत्रमा जेसीईले पेश गरेको कागजात नक्कली रहेको दाबी छ ।
आर्थिक अभियानलाई प्राप्त उक्त पत्रअनुसार जेसीईले आफ्नो कम्पनीको कुनै विद्युत् परियोजना नबनाएको र निर्माण गरेको दाबी गरिएको ९० मेगावाटको साङचेङ हाइड्रोपावर प्रोजेक्ट धेरै अघि नै आर्थिक कारणले रद्द गरिएको जनाइएको छ । हेचाउ शाङचेङ इलेक्ट्रिक पावर कम्पनी लिमिटेडको साखलाई उपयोग गर्दै ‘शाङचेङ इलेक्ट्रिक पावर कम्पनी लिमिटेड’ र ‘शाङचेङ जलविद्युत् स्टेशन’को नाम दुरुपयोग गरी जालसाजीपूर्ण काम गरेको पत्रमा उल्लेख गरिएको छ ।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले चिनियाँ कम्पनी सिनो हाइड्रोले सीआईबीको कार्यालयमा अनुसन्धान गर्न निवेदन दर्ता गरेको र त्यसबारेमा अनुसन्धान भइरहेको बताएका थिए ।
‘जेसीईले जगदुल्ला हाइड्रोपावरको ठेक्का पाउन फर्जी कागजात पेश गरेकोले अनुसन्धान गरी पाऊँ भनी सिनो हाइड्रोपावरले निवेदन दर्ता गराएको छ, त्यसमा अनुसन्धान भइरहेको छ,’ खड्काले यसअघि आर्थिक अभियानलाई भनेका थिए ।
गत अप्रिल २२ मा जगदुल्ला हाइड्रोपावर कम्पनीले परियोजनाको सिभिल र हाइड्रो मेकानिकल कामको लागि चिनियाँ कम्पनी जियाङ्सी कन्सट्रक्शन इन्जिनीयरिङ कर्पोरेशन (जेसीई) र सिनो हाइड्रो कर्पोरेशन लिमिटेडको प्राविधिक प्रस्ताव मूल्यांकनमा उत्तीर्ण भएको भन्दै सूचना निकालेको थियो ।
उनीहरूको वित्तीय प्रस्ताव मूल्यांकनपछि निर्माण कम्पनी छनोट गर्ने जानकारी पनि कम्पनीले दिएको थियो । जगदुल्लाले इन्जिनीयरिङ, खरीद र निर्माण (ईपीसी) मोडलमा १०६ मेगावाटको यो परियोजना निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो ।