काठमाडौं । नेपाल उद्योग परिसंघ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा आयोजित ‘वुमन लिडरशिप समिट २०२५’ सम्पन्न भएको छ । आइतवार काठमाडौंमा आयोजित उक्त शिखर सम्मेलनमा महिलाको नेतृत्व भूमिकाबारे बृहत् छलफल गरी आर्थिक सामाजिक विकासमा उनीहरूको योगदानलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार तथा १९ बुँदे रणनीति प्रस्ताव गरिएको छ ।
सम्मेलनमा ‘नवीनता र समावेशिता’, ‘दिगो कृषि क्षेत्रमा महिला’, ‘महिलामा लगानी’ र ‘सीमाना बाहिर : सफलता पुन:परिभाषित गर्दै महिला’ विषयमा छलफल गरिएको थियो । विशेषगरी महिलाको उद्यमशीलता प्रवर्द्धन गर्न नीतिगत सुधार, वित्तीय पहुँच वृद्धि, प्रविधि हस्तान्तरण तथा संस्थागत सशक्तीकरण जस्ता विषयमा सम्मेलन केन्द्रित भएको परिसंघले जानकारी दिएको छ ।
महिला नेतृत्व, आर्थिक सशक्तीकरण र दिगो विकास तीव्र बनाउन सम्मेलनले १९ बुँदे रणनीतिक हस्तक्षेप प्रस्ताव अघि सारेको छ । प्रस्तावित रणनीतिअन्तर्गत महिलाका लागि व्यवसाय प्रवर्द्धन गर्न अनुदानयुक्त तालीम कार्यक्रम सञ्चालन गरी प्रविधि, वित्तीय व्यवस्थापन तथा हरित प्रविधि सम्बन्धी ज्ञान प्रदान गरिनेछ । हरित प्रविधि अपनाउन महिलालाई अनुदान वा सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेछ । महिला उद्यमीहरूबीच डिजिटल तथा प्रत्यक्ष नेटवर्किङ प्लेटफर्मको विकास गरी ज्ञान आदान–प्रदानको अवसर सृजना गरिनेछ ।
यसैगरी व्यावसायिक विकासका लागि अन्तरराष्ट्रिय व्यापार अभ्यासलाई स्थान अनुकूल व्यापार मोडेल बनाएर लागू गरिनेछ । महिलाको प्रविधिमा पहुँच बढाउन स्टिम (विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित) क्षेत्रमा उनीहरूको सहभागिता प्रवर्द्धन गर्न महिला प्रविधि नीति वकालत गरिनेछ ।
कृषि क्षेत्रमा महिलाको सहभागिता बढाउन जलवायु–स्मार्ट कृषि प्रविधि प्रवर्द्धन गर्दै दिगो कृषि प्रणालीलाई सशक्त बनाइनेछ । महिलाको भूमि अधिकार सुरक्षित गर्न तथा वित्तीय पहुँच सुधार गर्न नीतिगत सुधार गरिनेछ । यस्तै जल व्यवस्थापनमा महिलाको संलग्नता वृद्धि गर्न जल स्रोत व्यवस्थापन तथा एकीकृत जल व्यवस्थापन रणनीति लागू गरिनेछ । महिला सहकारीलाई आर्थिक रूपमा सशक्त बनाउन डिजिटल बजार पहुँच सुधार गरिनेछ ।
परिसंघका अनुसार समाजमा लैंगिक समानता कायम गर्न तथा महिलाको आर्थिक सुरक्षा सुनिश्चित गर्न समान पारिश्रमिक कानून लागू गरिनेछ । महिलाको उद्यमशीलता प्रवर्द्धन गर्न कर छूट, अनुदान, तथा विशेष वित्तीय सहायता कार्यक्रम सञ्चालन गरिनेछ । महिलाको व्यावसायिक अवसर वृद्धि गर्न सरकारी खरीद नीतिमा महिलाको स्वामित्व भएका व्यवसायबाट कम्तीमा २० प्रतिशत खरीद गर्ने प्रावधान लागू गरिनेछ । महिला प्रतिस्पर्धात्मकता वृद्धि गर्न शिक्षा तथा स्टिम तालीमको पहुँच विस्तार गरिनेछ ।
यसैगरी कामकाजी महिलालाई सन्तुलित जीवनयापनका लागि मातृत्व बिदा तथा कार्य–जीवन सन्तुलन नीति सुधार गरिनेछ । महिलाले विभिन्न क्षेत्रका सफलतालाई आत्मसात् गर्न सकून् भन्ने उद्देश्यले सफलताको पुन:परिभाषा गर्दै विविध उपलब्धिलाई सम्मान गरिनेछ ।
महिलाको योगदानलाई व्यापक रूपमा प्रचारप्रसार गर्दै उनीहरूको प्रदर्शन बढाउने नीति अवलम्बन गरिनेछ । महिला नेतृत्वलाई थप सशक्त बनाउन नेतृत्व सञ्जाल विस्तार गर्दै नियमित कार्यक्रम तथा मञ्चहरूको विकास गरिनेछ । समान अवसर सृजना गर्न तथा लैंगिक चेतना बढाउन सकारात्मक मानसिकता परिवर्तनका लागि शिक्षा प्रणालीमा लैंगिक समानता सम्बन्धी विषय समावेश गरिनेछ ।
सम्मेलनमा लैंगिक समानता, समावेशिता तथा नवप्रवर्तन प्रवर्द्धन गर्दै नेपालमा महिला नेतृत्वको सशक्तीकरणका लागि मार्गनिर्देशन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । सम्मेलनबाट पारित १९ बुँदे रणनीतिक हस्तक्षेपले नीति निर्माता, व्यवसाय तथा नागरिक समाजलाई सहकार्यका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
शिखर सम्मेलनबाट पारित रणनीतिहरू
अनुदानयुक्त तालीम कार्यक्रम
प्रविधिमा पहुँच सहायता
सञ्जाल विस्तार र ज्ञान आदान–प्रदान
विश्वव्यापी व्यापार मोडेलको स्थान अनुकूल प्रयोग
महिलाका लागि प्रविधि नीतिगत वकालत
जलवायु–स्मार्ट कृषि प्रविधि
समान भूमि अधिकार र वित्तीय पहुँच
दिगो जलस्रोत व्यवस्थापन
एकीकृत जल व्यवस्थापन रणनीति
महिला नेतृत्व भएका सहकारीको पहिचान र सशक्तीकरण
समान पारिश्रमिक सम्बन्धी कानून
महिला उद्यमीलाई सहयोग
सार्वजनिक खरीद नीतिमा महिला उद्यमीको प्रवर्द्धन
शिक्षा तथा स्टिम तालीमको प्रवर्द्धन
मातृत्व बिदा तथा कार्य–जीवन सन्तुलन
महिलाको सफलता पुन:परिभाषा
महिलाको उपलब्धिको प्रदर्शन र पहिचान
सहयोगी नेतृत्व सञ्जालको निर्माण
मानसिकता रूपान्तरण र लैंगिक चेतना