जनकपुरधाम । जनकपुरधामका शम्भुप्रसाद गुप्ताले ५५ वर्षदेखि चस्माको व्यापार गर्दै आएका छन् । कुनै बेला उनको पसलमा ग्राहकको भीड थामीनसक्नु हुन्थ्यो । दैनिक ४०–५० हजार रुपैयाँसम्मको व्यापार हुनु अनौठो थिएन । अहिले ग्राहक पाउनै मुश्किल भएको गुप्ताले बताए ।
जनकपुरधामको मुरलीचोकमा १५ वर्षदेखि कपडा व्यापार गर्दै आएका मोहम्मद निराले पहिले दुई–चार जनालाई रोजगारी दिएका थिए । केही वर्षयता व्यापार खस्किँदो अवस्थाले पसल बन्द गर्न बाध्य भएको उनले सुनाए । ‘पसल बन्द भएकाले साहू महाजनबाट लिएको कर्जा कसरी तिर्ने भन्ने चिन्ता छ,’ उनले भने । अहिले व्यापार व्यवसाय घटेको र सजिलै ऋण नपाइनेलगायत कारण व्यापारीहरू मर्कामा परेको उनको भनाइ थियो ।
जनकपुरधाम उपमहानगरपालिका–४ स्थित साह पसलका सञ्चालक शिवकुमार साहको पनि यस्तै गुनासो छ । २० वर्षदेखि खाद्यान्न व्यापार गर्दै आएका उनले दैनिक उपभोग्य वस्तुको व्यापारमा समस्या होला भनेर सोचेका समेत थिएनन् । अहिले व्यापार ७५ प्रतिशतले घटेको उनको भनाइ छ । ‘पहिले सामान लिन पालो पर्खिनुपथ्र्यो, तर अहिले ग्राहक नै आउँदैनन्,’ उनले भने, ‘पहिलेको तुलनामा अहिले व्यापार २५ प्रतिशतमा झरेको छ । बजारमै मन्दी भएर वा अरूको व्यापार बढेर यस्तो भएको हो, बुझ्नै सकेको छैन,’ उनले भने ।
‘अहिले जनकपुरधामका अधिकांश व्यवसायीको समस्या उस्तै छ,’ जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले भने, ‘विलासिताका वस्तु मात्र होइन, दैनिक उपभोग्य सामान बेच्नेहरू पनि समस्यामा पर्नु गम्भीर चिन्ताको विषय हो ।’
महासेठका अनुसार जनकपुर बजार क्षेत्रमा व्यापार व्यवसाय निरन्तर ओरालो लागेपछि हालसम्म एक सयभन्दा बढी व्यापारीले सटर बन्द गरिसकेका छन् । यो संख्या निरन्तर बढ्दो छ । बैंक तथा साहूको साँवा–ब्याज तिर्न नसकेर आधा दर्जनभन्दा बढी ठूला व्यापार व्यवसाय बन्द भएको उनले बताए ।
‘जनकपुरधाममा कुनै बेला व्यापार गर्न सटर नै पाइँदैनथ्यो, अहिले मुख्य बजारमै दर्जनौं सटर बन्द छन् । पसल चलाइरहेकाहरूको व्यापार पनि निराशाजनक छ,’ महासेठले भने, ‘यसको कारण र परिणामका विषयमा न राज्यका निकाय, न त राजनीतिक नेतृत्व नै गम्भीर छन् ।’ व्यापारमा सुधार नहुँदा पसल बन्द हुने मात्रै होइन, व्यापारीले ऋण तिर्न नसक्दा असुलउपरका लागि बैंकले लिलामका सूचना निकालिरहेका छन् । तर आर्थिक सुस्तीका कारण लिलाम सकार्ने मान्छेसमेत भेटिँदैनन् ।
कर्जाका लागि राखिएको धितो लिलाम सकार्ने मान्छे नभेट्दा संघको रोहवरमा समस्या समाधान गरिएको संघका अध्यक्ष महासेठले बताए । ‘व्यापारीले ऋण तिर्न नसक्ने र लिलाम गर्दा किन्ने मान्छे नभेटिनुले आर्थिक मन्दीको संकेत गर्छ,’ उनले भने । स्थानीय अर्थतन्त्र र व्यापार व्यवसायमा देखिएको मन्दीको अन्त्य नभए समस्या झन् भयावह हुने चिन्ता उनले व्यक्त गरे ।
कोरोना महामारी, त्यसपछि रुस–युक्रेन संकटको अन्तरराष्ट्रिय असर, मागमा आएको कमीले घट्दो व्यावसायिक मनोबल लगायत कारण अहिले नेपालको समग्र आर्थिक अवस्था सहज छैन । यही समस्या मधेश प्रदेश तथा राजधानी जनकपुरधाममा पनि देखिएको व्यवसायीको बुझाइ छ । विगतमा मधेश विद्रोह, भूकम्प, स्थानीय सरकार आएपछि बाटो विस्तारका क्रममा भएका अवरोध, कोरोना महामारीपछिको लकडाउनले पारेको नकारात्मक प्रभावलगायत कारण यहाँको व्यवसाय उठ्नै नसक्नेगरी थलिएको स्थानीय व्यवसायी कमलकुमार साहले बताए ।
‘जनकपुरधामको अर्थतन्त्रको मुख्य आधार धार्मिक पर्यटन हो । केही वर्षदेखि पर्यटकीय गतिविधि सुस्त छन्,’ साहले भने, ‘नियमित आम्दानी नै सुकेपछि खर्च कसरी हुन्छ र ? सोहीकारण यहाँको व्यापार व्यवसाय उठ्न नसकेको हो ।’ समस्याबाटै सुधारको शुरुआत हुने भन्दै व्यापारी व्यवसायीले राज्यले यस क्षेत्रमा व्यावसायिक मनोबल बढाउनुपर्ने र आन्तरिक उत्पादन तथा उपभोक्ताको आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन् । ‘उत्पादनमूलक उद्योग छैनन् । घरजग्गामा लगानी गर्ने परिपाटी निरन्तर बढ्दो छ । यसले दीर्घकालमा अर्थतन्त्र धराशयी हुन्छ,’ संघका अध्यक्ष महासेठले भने, ‘अनुत्पादक क्षेत्रमा जाने कर्जा रोकेर उत्पादनमूलक र रोजगारी सृजनामुखी क्षेत्रमा बढाउनुपर्छ, यस्ता उद्योगलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था हुनुपर्छ ।’ सरकारले स्थानीय अर्थतन्त्र चलायमान हुनेगरी नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने उनले सुझाएका छन् ।