काठमाडौं । अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक भए पनि आन्तरिक माग र लगानी बढ्न नसक्दा यतिबेला उद्यमी तथा व्यवसायी निराश छन् । अहिलेको अवस्थामा व्यवसायी निराश भई आत्मविश्वास घटाउनेभन्दा पनि बढाउनेतर्फ लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
न्यू बिजनेश एज प्रालिले शुक्रवार काठमाडौंमा आयोजना गरेको आठौं संस्करणको ‘न्यूबिज बिजनेश कन्क्लेभ एन्ड अवाडर््स–२०२४’ मा व्यवसायीले यस्तो धारणा राखेका हुन् । ‘बिजनेश अपरच्युनिटिज इन डिफिकल्ट टाइम्स’ थिमको सामूहिक छलफलका वक्ताहरूले कठिन समय भए पनि व्यावसायिक समुदायले आफै प्रयास गर्नुपर्ने बताए ।
सामूहिक छलफलमा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले अवस्था कठिन भए पनि आशावादी रहेको बताए । ‘अहिले घटेको आत्मविश्वास बढाउन लागि परौं, किनकि हामी बिजनेश लिडर हौं,’ मुखर्जीले भने, ‘सकारात्मक रूपमा बोल्न शुरू गरौं सकारात्मक कुरा गरौं र सोचौं पनि । किनकि यहाँ अवसर छ भने अर्काेतिर यहाँ सफल भएका उद्योग पनि छन् । धेरै समस्याका कुरा गरेर मात्रै समाधान निस्किँदैन ।’
सो अवसरमा उनले पछिल्लो समय उपभोक्ताको माग र रोजाइमा आएको परिर्वतनले एफएमसीजी जस्ता उद्योगलाई चुनौती थपिएको बताए । युनिलिभरले उत्पादनको गुणस्तरमा सम्झौता कहिले पनि नगरेको भन्दै उनले थपे, ‘हामी निरन्तर ग्राहकसँग जोडिएका हुन्छौं विभिन्न माध्यमबाट भने गुणस्तरीय उत्पादन र उपभोक्ताको पनि चाहना बुझ्नुपर्छ ।’
आफ्नो कम्पनीमा उपयोग भएकामध्ये ६० प्रतिशत प्याकेजिङ मेटेरियल पुन: प्रयोग गरिएको उनले बताए । ‘कार्बन फुटप्रिन्ट घटाउनेमा ध्यान दिइएको छ,’ मुखर्जीले भने, ‘ऊर्जा कटौती भएका बेलामात्रै इन्धन प्रयोग हुन्छ । अन्यथा हरित ऊर्जा नै कम्पनीका फ्याक्ट्रीमा प्रयोग हुन्छ ।’
निम्बस होल्डिङ प्रालिका प्रबन्ध निर्देशक आनन्द बगरियाले आजको दिनमा कसरी टिक्ने भन्ने चिन्ता रहेको बताए । धैर्य, इनोभेटिभ अवधारणा अहिलेको आवश्यकता भएको उनको भनाइ छ । उनले अहिलेको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिको वास्तविकता के हो भनी प्रश्न पनि गरे । जीडीपी र उपभोगको अवस्था बढ्नैपर्ने धारणा राख्दै उनले भने, ‘अहिलेको जनसांख्यिक स्थिति प्रतिव्यक्ति आय बढाउन पर्याप्त हो ।’
अहिलेको अवस्थामा माग नबढाउँदासम्म खासै उपलब्धि नहुने पनि उनले बताए । ‘अहिलेको अवस्थामा कसरी व्यवसायमा टिकिरहने भन्ने समस्यामा विश्लेषण गरिएको छ,’ बगरियाले भने, ‘कृत्रिम बौद्धिकता, बीटूबी, बीटूसी जस्ता लगानीमा केन्द्रित हुनुपर्छ ।’ उनले आफ्नो व्यवसाय उत्पादनदेखि वितरणसम्म इनोभेसन प्रणालीमा गइसकेको धारणा राखे । ‘१९९० को दशकमा व्यवसाय गर्दा पनि चुनौती थियो र अहिले पछि छ,’ बगरियाले भने, ‘यो समय भनेको डिस्रप्सन र इनोभेसनको पनि हो ।’
निम्बसले पनि अहिलेको अवस्थाबाट माथि उठ्न काम गरिरहेको भन्दै उनले नेपालबाहिर धेरै नेपाली जनसंख्या भइसकेकोले त्यसबाट कसरी लाभ लिन सकिन्छ भन्नेमा सोच्ने बेला भएको बताए ।
भायनेट कम्युनिकेशनका प्रमुख कार्यकारी अधिकृत सेवा पाठकले अहिले निजीक्षेत्रले आशा, भरोसा गुमाउनेभन्दा आशावादी भएर काम गर्नुपर्ने बताइन् । १५ वर्षयताको इन्टरनेट व्यवसाय हेर्दा सकारात्मक अवस्थामा रहेको भन्दै उनले थपिन्, ‘अहिले यसको पेनेट्रेशन ९० प्रतिशतसम्म पुगेको छ भने ३० अर्ब रूपैयाँ बराबरको लगानी यो क्षेत्रमा छ ।’ पछिल्लो समय स्टार्टअपको संस्कार पनि बढ्दो अवस्थामा रहेकोले यो क्षेत्रले आशा पनि जगाएको पाठकले बताइन् ।
‘अहिलेको अवस्थामा कसरी व्यवसायलाई अगाडि बढाउने भन्ने विषयमा भरपुर छलफल हुनुपर्छ,’ पाठकले भनिन्, ‘इनोभेसन, गुणस्तरीय सेवा प्रवाहमा पनि लाग्न सके व्यवसायका साथै आर्थिक समृद्धि पनि हासिल गर्न समस्या हुँदैन ।’ सोसियल मिडियाको बढ्दो प्रयोगले पनि निजीक्षेत्रको लगानी यो क्षेत्रमा बढ्दो अवस्थामा रहेको उनले बताइन् । ‘मेटाभर्स, एआई जस्ता भर्चुअल वल्र्ड बढ्दो छ,’ उनले भनिन्, ‘कस्ता प्रविधि प्रयोग गरेर सेवालाई अर्काे तहमा पुर्याउने भन्ने चुनौती छ ।’
उनले कोभिडपछि युवालाई स्वदेशमा राख्न गाह्रो परेको बताइन् । ‘निकै कम जनसंख्या छ, जसले नेपालमै भविष्य देख्छन्,’ पाठकले भनिन्, ‘धेरै बाहिर गएका छन् । नेपालमै जनशक्ति कसरी राख्न सकिन्छ भन्ने रणनीति अब चाहिन्छ । यसमा ढिलाइ नगरौं ।’
सामूहिक छलफलको सहजीकरण गरेका प्रिज्म एड्भटाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यले नेपाली अर्थतन्त्र अहिले विभिन्न अप्ठ्यारोबाट गुज्रिएको बताए । उनले बैंकबाट कर्जा प्रवाह हुन नसकेको, धेरै उद्योग कम क्षमतामा चलिरहेको, अस्वस्थ प्रतिस्पर्धा, बढेको र स्वदेशी तथा विदेशी लगानी आगमन ठप्प जस्तै रहेको उनले बताए । होटेल क्षेत्रमा भने लगानी बढेको र पर्यटक आगमन पनि सन् २०१९ को अवस्थामा आएकोले सकारात्मक अवस्था रहेको उनको भनाइ छ ।
‘यी समस्याबीच सरकारले लगानी सम्मेलन गर्दै छ,’ उनले भने, ‘यसले सकारात्मक सन्देश प्रवाह गर्नेछ । बिजनेश कम्युनिटीले आफै एफोर्ट लगाउनपर्ने अवस्था पनि आएको छ ।’ उनले स्टार्टअप नीतिलाई सरकारले छिटो कार्यान्वयन गरे विदेशिने युवा रोकिने बताए । उनले अहिलेको अवस्थामा व्यवसायमा ठूलो चुनौती रहेको भन्दै त्यसबाट सहज रूपमा बाहिर आउनका लागि के–कस्ता रणनीति अपनाउने भन्ने विषयमा प्रश्न गरेका थिए ।