काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा उत्साह देखिएको छ । सातामा पाँच कारोबार दिन बजार सञ्चालन हुँदा २२ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको ६ करोड ७२ लाख ९२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साताको तुलनामा यो साता कारोबार रकम १ अर्ब ३३ करोड ६४ लाख रुपैयाँभन्दा बढीले बृद्धि भएको हो ।
कित्तामा पनि यो साता १ करोड ९९ लाखभन्दा बढीको वृद्धि देखिएको छ । गत साता भने २१ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको ४ करोड ७३ लाख ३३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
औसतमा पनि यो साता २६ करोड ७२ लाख रुपैयाँभन्दा बढीको ३९ लाख ९१ भन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । नेप्सेका अनुसार यो साता औसतमा ४ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको १ करोड ३४ लाख ५८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । गत साता यो कारोबार ४ अर्ब २८ करोड ८२ लाख रुपैयाँभन्दा बढीको ९४ लाख ६६ हजारभन्दा बढी कित्ता थियो ।
यो साता नेपाली कांग्रेस र नेकपा (एमाले)को सहमतीय सरकार बन्ने भएसँगै लगानीकर्ता उत्साहित बनेका हुन् । सोमवार कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने सहमति भएसँगै मंगलवार बजारमा उछाल आएको थियो ।
उक्त दिन बजार ४७ दशमलव शून्य ४ अंकले बढेर बन्द भएको थियो । दुई पटक सर्किट ब्रेकर लगाएर कारोबारको अन्तिममा भने बजार सम्हालिएको थियो । तत्काल प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राजीनामा नदिने अडान लिएसँगै एमाले र कांग्रेसबीचको सहमतिले पूर्णता पाउन नसकेको अवस्था छ ।
लगानीकर्तामा एमालेको सरकारले पूँजीबजारका लागि प्राथमिकता दिने विश्वास रहँदै आएकाले पनि उत्साह देखिएको हो । सबैभन्दा ठूला दुई दल एक हुने भएसँगै राजनीतिक स्थायित्व हुने र बजार विकासका लागि समेत दीर्घकालीन समाधानका नीति बन्ने विश्वास लगानीकर्ताले लिएका छन् । गत साताको तुलनामा यो साता नेप्से परिसूचक ३ दशमलव ३० प्रतिशत अर्थात् ६७ दशमलव ७८ अंक बढेर २ हजार ११९ दशमलव ७० विन्दुमा पुगेको छ ।
पाँच कारोबार दिनमा यो साता नेप्से परिसूचक पहिलो कारोबार दिन १४ दशमलव ८३ अंकले घटेको थियो भने त्यसपछिका चार कारोबार दिन लगातार बढेको छ । पछिल्लो समय छोटो अवधिमै लगानीकर्ता नाफा बुक गर्न सक्रिय रहेको अवस्थामा आगामी साता नाफा बुकको असर केही दिन बजारमा पर्ने भए पनि लगानीकर्ताको उत्साह कायम रहने विश्वास ब्रोकरहरूको छ ।
यो साता धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण ३३ खर्ब ६२ अर्ब २१ करोड ६० लाख रुपैयाँभन्दा बढी कायम भएको छ । गत साताको अन्तिम कारोबार दिन यो रकम ३२ खर्ब ५३ अर्ब ७४ करोड ४७ लाख रुपैयाँभन्दा बढी थियो । गत साताभन्दा यो साता कुल बजार पूँजीकरण १ खर्ब ८ अर्ब ४७ करोड १३ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको हो ।
सातागत परिसूचकको तुलना
विवरण | यो साता | गत साता | फरक | फरक प्रतिशत |
नेप्से परिसूचक (अंक) | 2,119.70 | 2,051.92 | 67.78 | 3.3 |
सेन्सेटिभ इन्डेक्स (अंक) | 374.7 | 361.18 | 13.52 | 3.74 |
कारोबार रकम (रू. हजारमा) | 22,750,071.07 | 21,413,600.97 | 1,336,470.10 | 6.24 |
कारोबार कित्ता | 67,292,295 | 47,333,418 | 19,958,877 | 42.17 |
औसत कारोबार रकम (रू. हजारमा) | 4,550,014.21 | 4,282,720.19 | 267,294.02 | 6.24 |
औसत कारोबार कित्ता | 13,458,459 | 9,466,684 | 3,991,775 | 42.17 |
कुल बजार पूँजीकरण (रू. दश लाखमा) | 3,362,216.09 | 3,253,744.77 | 108,471.32 | 3.33 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।
व्यापारिक समूहको परिसूचक करीब १० प्रतिशत वृद्धि
यो साताको कारोबारमा बजार सकारात्मक भएसँगै सबै समूहगत परिसूचकहरू पनि सकारात्मक बनेका छन् । गत साताभन्दा यो साता व्यापारिक समूहको परिसूचक सर्वाधिक ९ दशमलव ८१ प्रतिशत बढेको नेप्सेले जानकारी दिएको छ ।
योसँगै विकास बैंकको ८ दशमलव ८९ प्रतिशत, वित्तको ७ दशमलव ११ प्रतिशत, बैंकिङको ५ दशमलव ५७ प्रतिशत, जीवन बीमाको ४ प्रतिशत, लगानीको ३ दशमलव ८७ प्रतिशत, होटल तथा पर्यटनको ३ दशमलव शून्य ९ प्रतिशत, निर्जीवन बीमाको ३ दशमलव शून्य १ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ८६ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ९० प्रतिशत, जलविद्युतको शून्य दशमलव ४५ प्रतिशत र अन्य समूहको शून्य दशमलव ४४ प्रतिशत परिसूचक बढेको छ ।
पछिल्ला कारोबारलाई हेर्दा लगानीकर्ताहरूले छोटो समयमै समूह परिवर्तन गरी कारोबार गरेको देखिन्छ ।
साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन
विवरण | यो साता | गत साता | फरक प्रतिशत |
व्यापारिक | 3,112.34 | 2,834.26 | 9.81 |
विकास बैंक | 4,388.40 | 4,029.99 | 8.89 |
वित्त | 2,595.59 | 2,423.27 | 7.11 |
बैंकिङ्ग | 1,134.37 | 1,074.53 | 5.57 |
जीवन बीमा | 10,210.89 | 9,818.31 | 4 |
लगानी | 78.69 | 75.76 | 3.87 |
होटल तथा पर्यटन | 5,422.27 | 5,259.98 | 3.09 |
निर्जीवन बीमा | 10,734.66 | 10,421.29 | 3.01 |
उत्पादन तथा प्रशोधन | 6,470.54 | 6,352.33 | 1.86 |
म्युचुअल फण्ड | 19.12 | 18.95 | 0.9 |
जलविद्युत् | 2,605.66 | 2,583.31 | 0.87 |
लघुवित्त | 4,547.23 | 4,526.90 | 0.45 |
अन्य | 1,609.97 | 1,602.89 | 0.44 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।