काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८८ दशमलव ९१ प्रतिशत घटेको छ । गत आवको तेस्रो त्रैमाससम्म रू. ३ करोड ३१ लाख नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिमा रू. ३६ लाख ८१ हजारमात्र नाफा कमाएको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा घटेको र निष्क्रिय कर्जा बढेकाले नाफा घटेको हो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ४१ प्रतिशत र सञ्चालन नाफा ८४ दशमलव ८५ प्रतिशत घटेको छ । त्यस्तै गत आवमा शून्य दशमलव ६८ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा चालू आवमा ३ दशमलव ५९ प्रतिशत पुगेको छ ।
त्यस्तै चुक्तापूँजी रू. १४ करोड ६१ लाख रहेको कम्पनीले जगेडामा रू. ४ करोड ७९ लाख सञ्चित गरेको छ । कम्पनीले रू. १ अर्ब २९ करोड सापटी र रू. ६९ करोड ४४ लाख निक्षेप सकलन गरेर रू. २ अर्ब २ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव ३६, मूल्य आम्दानी अनुपात २८० दशमलव १६ गुणा, तरलता अनुपात १५ दशमलव ७६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३५ दशमलव ३२ रहेको छ ।